सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने - Chaitanya News
  • 2026-05-20
  • 00:18:30
  • मंगलबार,जेठ ०५, २०८३
  • सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

    सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (आइतबार) विश्वासको मत लिने तयारी गरेका छन् । सो प्रयोजनका लागि आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

    एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । यता माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

    शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो । बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाएको माओवादीका सांसद अक्कल रावलले जानकारी दिए ।

    यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने कुरामा शर्त अगाडि सारेको छ । नागरिक उन्मुक्तिले मन्त्रालय भागवण्डामा लिखित सहमति भए मात्र विश्वासको मत दिन सकिने स्पष्ट पारेको छ । यसअघिको एमाले सरकार पनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिंदा ढलेको थियो ।