सात वर्षपछि जसपा र लोसपा एउटै गठबन्धनमा सामेल - Chaitanya News
  • 2026-05-20
  • 00:18:08
  • मंगलबार,जेठ ०५, २०८३
  • सात वर्षपछि जसपा र लोसपा एउटै गठबन्धनमा सामेल

    सात वर्षपछि जसपा र लोसपा एउटै गठबन्धनमा सामेल

    काठमाडौँ– सात वर्षपछि लोसपा र जसपा आठ दलीय गठबन्धनमा देखिएका छन।

    एउटै विचार र एउटै मुद्दामा जसपा र लोसपाले अलगअलग संघर्ष गर्दै आइरहेका थिए। दुवै दलले तराई मधेसलाई नै आफ्नो आधार क्षेत्र बनाएका छन्।

    सुरुमा गजेन्द्रनारायण सिंहको नेतृत्वमा नेपाल सद्भावना पार्टी थियो। त्यसपछि उपेन्द्र यादवले मधेसी जनअधिकार फोरम नेपाल गठन गरे। मधेस आन्दोलन सुरु भएपछि महन्थ ठाकुरले तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरे। त्यसपछि त्यही तमलोपा, फोरम र नेपाल सद्भावना पार्टीबाट फुटेर विभिन्न दल बने।

    पछि तिनै दल एकीकृत हुँदै, फुट्दै अहिले जसपा र लोसपा बनेको हो। सुरुमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनाएर आन्दोलन गरेका जसपा र लोसपा आन्दोलनपछि एक ठाउँमा कहिल्यै रहेनन्। २०६४ देखि मधेसी मोर्चा (पछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा) बनाएर २०७२ सम्म आन्दोलन गरेका ती दलहरू कहिल्यै एक ठाउँमा आएनन्।

    हुन त २०६४–२०७२ को बीचमा पनि पटकपटक मोर्चा बन्ने र भत्किने काम भयो। २०६५ मा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारमा सहभागी भएपछि महन्थ ठाकुर नेतृत्वको पार्टी र उपेन्द्र यादव नेतृत्वको पार्टी एउटै सरकारमा कहिल्यै सहभागी भएनन्।

    महन्थ ठाकुर(तमलोपा)–राजेन्द्र महतो ९सद्भावना० नेतृत्वको पार्टी सरकारमा जाँदा उपेन्द्र यादव नेतृत्वको ९फोरम० पार्टी सरकारमा नजाने, उपेन्द्र यादव नेतृत्वको पार्टी सरकारमा जाँदा महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको पार्टीमा सरकारमा नजाने अवस्था थियो। तर बेला बेलामा यी दल आन्दोलनका लागि मोर्चाबन्दी गर्थे। २०७२ सम्म आन्दोलनको मोर्चामा सँगसँगै थिए।

    २०७४ वैशाखमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजेन्द्र महतो, राजकिशोर यादव, महेन्द्र राय यादव र अनिल झा नेतृत्वको विभिन्न पार्टीबीच एकीकरण भएर राष्ट्रिय जनता पार्टी बन्यो। तर उपेन्द्र यादवले एकीकरण गर्न मानेनन्। महन्थ ठाकुरहरुले एकीकरणका लागि आग्रह गरे पनि उपेन्द्र यादवले पछि आउने भन्दै टार्दै गए।

    संविधान संशोधन नभएसम्म २०७४ को चुनावमा भाग नलिने यी दलहरूको बीचमा सहमति थियो। तर उपेन्द्र यादवले भित्रभित्रै चुनावको तयारी गरेका थिए। उपेन्द्र यादव नेतृत्वको फोरम चुनावमा भाग लियो तर महन्थ ठाकुर नेतृत्वको राजपा मधेस प्रदेशबाहेक अन्य ठाउँमा सहभागी हुन पाएन।

    मधेस प्रदेशमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उपेन्द्र यादव र महन्थ ठाकुरले सहकार्य गरेका थिए। ती दुवै दलले मधेस प्रदेशमा संयुक्त सरकार पनि बनाए। केन्द्रीय सरकारमा उपेन्द्र यादवको पार्टी सहभागी भए पनि महन्थ ठाकुर नेतृत्वको पार्टीले बाहिरबाट समर्थन ग¥यो।

    आफूहरूको माग पूरा नभएको भन्दै महन्थ ठाकुरले सरकारलाई दिएको समर्थन फिर्ता लिए। उपेन्द्र यादवको पार्टी सरकारमा रहिरह्यो। पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिल्दा उपेन्द्र यादव पनि सरकारबाट बाहिरिए।

    उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी विभाजन हुन लाग्दा महन्थ ठाकुर नेतृत्वको राजपासँग रातारात एकीकरण गरी जसपा नेपाल बनाइयो। तर जसपा गठन भएको ६ महिना नपुग्दै पार्टीमा विवाद सुरु भयो। जुन सरकारबाट उपेन्द्र यादव बाहिरिएका थिए, सोही सरकारमा जसपामै रहेर महन्थ ठाकुरले आफ्ना पक्षका नेताहरुलाई सरकारमा पठाए। त्यसले गर्दा विवाद झन् बढ्दै गयो। अन्ततः महन्थ ठाकुर सो पार्टीबाट अलग भएर लोसपा नेपाल बनाए।

    एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न बनेको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको जसपा सामेल भयो भने महन्थ ठाकुर नेतृत्वको लोसपाले केपी ओली नेतृत्वको एमालेलाई साथ दियो। उपेन्द्र यादव र महन्थ ठाकुर दुईतिर मुख फर्काएर बसे।

    कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपा सामेल भयो तर लोसपा बाहिर बस्यो। चुनावमा उपेन्द्र यादव नेतृत्वको जसपा पाँच दलीय गठबन्धन छाडेर एमालेसँग मिल्न गएपछि महन्थ ठाकुर नेतृत्वको लोसपा एमालेलाई छाडेर कांग्रेस नेतृत्वको गठबन्धनमा गयो। दुवै पार्टी अलगअलग गठबन्धनबाट चुनाव लडे।

    चुनावपछि माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार बनाउन जसपाले समर्थन जनायो तर लोसपा चुपचाप बस्यो। यद्यपि लोसपाले संसदमा विश्वासको मत दियो। अहिले प्रधानमन्त्री प्रचण्ड एमालेसँगको गठबन्धन छाडेर पुन कांग्रेस नेतृत्वको गठबन्धनमा फर्केपछि जसपा र लोसपा एउटै गठबन्धनमा मिसिएका छन्। एउटै गठबन्धनमा भए पनि दुई अध्यक्षको बीचमा बोलचाल भएको छैन।

    लोसपाले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा उम्मेदवारमा प्रस्ताव गरेको थियो। सहमतिका लागि लोसपाले सबै दलसँग छलफल गरे पनि एउटै गठबन्धनमा रहेको जसपासँग छलफल गरेन। लोसपा–जसपा एउटै गठबन्धनमा छन्। अब केन्द्र तथा प्रदेश सरकारमा पनि सहभागी हुनेछन्।