धनगढी– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेका फर्निचर उद्योगमा आगलागी भएको छ।
धनगढी उपमहानगरपालिका–६ ढुङ्गे बजारमा स्थानीय धर्मराज जोशीले सञ्चालन गरेको न्यू लक्ष्मी समिल तथा फर्निचर उद्योगमा बुधबार आगलागी हुँदा करिब ३६ लाख रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले उद्योगको छानोमा वेल्डिङ गर्ने क्रममा बिजुलीको झिल्का खरले छाएको छानोमा खस्दा आगलागी भएको जानकारी दिए।
उनकाअनुसार आगलागीबाट उद्योगमा रहेको मेसिन, औजार, काठ, प्लाइ, पलङ्ग (बेड) मोटर र लुगा कपडा गरेर अनुमानीत ३६ लाख बरावरको क्षति भएको छ। उपमहानगरपालिकाको दमकल, स्थानीय र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ।