काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला भनिने नेताहरु राष्ट्रदोहन र नीतिगत भ्रष्टाचारमा संलग्न रहेको भन्दै तीव्र रोष प्रकट गरेका छन्।
पूर्वराष्ट्रप्रमुख र पूर्वप्रधानमन्त्रीहरु नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण रहेको थापाको भनाइ छ।
आज काठमाडौंमा पार्टीसम्बद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल व्यवस्थाले गर्दा गणतन्त्रकै विकल्प खोज्दै जनता सडकमा आउन बाध्य हुने चेतावनी दिए।
थापाले मुलुकको अवस्था अत्यन्तै नाजुक भएको बताउँदै यसले व्यवस्था परिवर्तन हुन सक्ने चेतावनी समेत दिए। उनले गणतन्त्रका संवाहक हौँ भन्नेहरु नसच्चिए ठूलो दुर्घटना अवश्यमम्भावी रहेको दाबी गरे।
‘गरिब जनता सिटामोल खान सक्ने अवस्थामा छैनन् , ठूला नेताहरु ब्रम्हलुटमा लिप्त छन्।’ थापाले भने, ‘यो दुर्घटनाको सङ्केत हो।’ भ्रष्टाचार ,बेरोजगारी ,कुशासन, धर्मपरिवर्तनले आक्रान्त जनता नाङ्गो ब्रम्हलुटबाट आजित भएको उनको भनाइ छ।