सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिएको छ : उपेन्द्र यादव - Chaitanya News
  • 2026-05-16
  • 21:01:12
  • शनिबार,जेठ ०२, २०८३
  • सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिएको छ : उपेन्द्र यादव

    सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिएको छ : उपेन्द्र यादव

    काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिएको बताएका छन।

    बुधवार जनकपुरमा आयोजित मधेस प्रज्ञा प्रतिष्ठानको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले चाँडै नै सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन पास गर्नुपर्ने बताए। उनले प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधन स्रोत नहुँदा आवश्यकताअनुसार काम गर्न नसकेको दाबी पनि गरे।

    अध्यक्ष यादवले सङ्घीय निजामती ऐन तत्काल पास गरेर प्रदेशमा कर्मचारीतन्त्र स्थापना गर्नुपर्ने र प्रहरी समायोजन गरी प्रदेशलाई हस्तान्तरण गर्न जरुरी भइसकेको बताए। उनले भने ‘सङ्घीय निजामती ऐनको आधारमा केन्द्र सरकार कसरी अघि बढ्छ भन्ने थाहा हुन्छ। सङ्घीय निजामती ऐन छिटो पास गर्नुपर्छ र प्रदेश कर्मचारीतन्त्रको स्थापना गर्नुपर्छ। प्रहरी समायोजन गरेर प्रदेशलाई अधिकार हस्तान्तरण गर्नुपर्छ। प्रशासनिक शक्ति प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ।’

    अध्यक्ष यादवले सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता फर्काउने आवाज उठे पनि अब सम्भव नरहेको दाबी गरे। उनले लोकतन्त्र र गणतन्त्रको विकल्प अरू हुनै नसक्ने जिकिर गरे।