काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनबारे संघीय र प्रदेश सभाका सांसदहरूलाई प्रशिक्षण दिने निर्णय गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिएका रामचन्द्र पौडेललाई जिताउन केन्द्रदेखि प्रदेशसम्म पुगेर प्रशिक्षण दिने निर्णय गरेको हो।
सांसदहरूसँग फागुन १९ गते अन्तर्क्रिया गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। उनकाअनुसार फागुन १९ गते सातै प्रदेशमा गएर प्रदेश सभा सदस्यहरूसँग छलफल गरिनेछ।
कांग्रेसका पदाधिकारीहरूलाई प्रदेशमा खटाइने र राष्ट्रपतिमा पौडेललाई समर्थन गरेका अरू ७ दलका प्रतिनिधि पनि अन्तर्क्रियामा जाने र सम्बोधन गर्ने निर्णय भएको महतले बताए।
महतले फागुन २४ गते काठमाडौंमा सांसदहरूलाई मतदान प्रक्रियालगायतबारे पनि प्रशिक्षण दिइने जानकारी दिएका छन्।
यसअघि ८ दलीय गठबन्धनले बनाएको कार्यदलले पनि राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर जाने निर्णय गरेको थियो।
फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ।