काठमाडौं – प्रधानमन्त्री प्रचण्डले सम्हालेका मन्त्रालयको सङ्ख्या १६ वटा पुगेको छ। नेकपा एमालेका मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालय पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँसँग राखेका छन। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले छाडेका तीन मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी आफैँसँग राख्नुभएका प्रधानमन्त्री प्रचण्डले एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि आफैँसँग राखेका छन।
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार थप आठ वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेबी हुन। एमालेले छाडेपछि अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई आएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राप्रपाले छाडेका ऊर्जा, सहरी विकास र कानुन मन्त्रालय पनि प्रचण्डकै जिम्मामा छन्।
प्रधानमन्त्री प्रचण्डले गएको माघ ३ गते मन्त्रिपरिषद् विस्तार गर्दा वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय आफैँसँग राखेका थिए। ती मन्त्रालयसहित अहिले प्रधानमन्त्री प्रचण्डसँग १६ वटा मन्त्रालय भएका छन्। अहिले सरकारमा माओवादी केन्द्र र जनमत पार्टीका मन्त्रीमात्रै बाँकी रहेका छन्।