आयोजनाहरूको लागत अनावश्यक बढ्न दिनुहुँदैन : सांसद बजगाईं - Chaitanya News
  • 2026-05-19
  • 22:06:17
  • मंगलबार,जेठ ०५, २०८३
  • आयोजनाहरूको लागत अनावश्यक बढ्न दिनुहुँदैन : सांसद बजगाईं

    आयोजनाहरूको लागत अनावश्यक बढ्न दिनुहुँदैन : सांसद बजगाईं

    काठमाडौं– प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले गोरखामा निर्माण भएका विद्युत् परियोजनाहरूको सफलतासँगै गोरखावासीको समुन्नति सुनिश्चित हुने बताएका छन्।

    विकास हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित माछाखोला जलविद्युत् आयोजनाको उद्घाटन समारोहमा सांसद बजगाईंले गोरखाको गौरवको रूपमा रहेको बुढीगण्डकी आयोजना र अन्य साना विद्युत् आयोजनाका सफलतासँग गोरखाको विकास जोडिएको बताए।

    आफ्नो निर्वाचन क्षेत्रमा मात्रै साना खोलाहरूबाट एक हजार मेगावाट विद्युत् उत्पादनका लागि पिपिए भएको स्मरण गराउँदै उनले आयोजनाहरूको लागत अनावश्यक रूपले बढ्न दिन नहुने बताए। ‘राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकीको प्रस्तावित प्रसारण लाइन निर्माणमा एक अर्ब ८० करोड रुपैयाँ फजुल खर्च हुने देखिन्छ। गुम्दा र लाप्राकको बीचमा ग्रिड बनाउने हो भने फजुल खर्च रोक्न सकिन्छ,’ उनले भने।

    माछाखोला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेकोमा खुसी व्यक्त गर्दै सांसद बजगाईंले जलविद्युत् र पर्यटन प्रवर्द्धनबाट नै मुलुकले समृद्धि हासिल गर्ने बताए।