काठमाडौं– प्रमुख सत्ता साझेदार नेकपा एमालेले सोमबार सरकारबाट बाहिरिने निर्णय लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने मन्त्रालयको संख्या १६ पुगेको छ।
सोमबार बिहान बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।
गत पुस १० गते बनेको सात दलीय गठबन्धनको प्रमुख घटक एमाले दुई महिनामै सरकारबाट बाहिरिएको छ।
यस्तोमा एमालेबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी आठजना मन्त्रीहरुले बालुवाटार पुगेर राजीनामा बुझाइसकेका छन्।
एमालेका मन्त्रीहरुले राजीनामा बुझाएसँगै यसअघि ८ मन्त्रालय सम्हालेका प्रचण्डको काँधमा थप ८ मन्त्रालयसहित १६ वटा पुगेका छन्।
चण्डले यसअघि गत माघमा रवि लामिछानेको सांसद र मन्त्री पद गएपछि गृहमन्त्रालय पनि आफैँ राखेका छन्।
उनीसँग सोमबारसम्म वन तथा वातावरण, युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय थिए।