काठमाडौं – रंगहरुको पर्व फागु सोमबारबाट विधिवतरुपमा शुरु भएको छ । काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर विधिवतरुपमा फागु शुरु भएको हो ।
सोमबार बिहान हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ सात बजेर ४५ मिनेटको साइतमा चीर ठड्याइएको छ ।
पर्व परम्परा अनुसार फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म ८ दिन फागु मनाउने चलन छ । अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ ।
पहिले–पहिले आठै दिन धुमधामसँग एकाआपसमा रंग, अबिर छ्यापी होली खेलेर वसन्तऋतुको स्वागत गर्ने चलन रहेको संस्कृतिविद्हरू बताउँछन् ।
चन्द्रमास अन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली यो वर्ष पहाडी क्षेत्रमा फागुन २२ गते र तराई भेगमा फागुन २४ गते मनाइने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
रंगीचंगी कपडाहरु बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि फागु पर्व सकिन्छ ।