‘हेर्दाहेर्दै’ मा रहेको सन्दीपको मुद्दामा आज पुनः सुनुवाइ हुँदै - Chaitanya News
  • 2026-05-09
  • 23:14:29
  • शनिबार,बैशाख २६, २०८३
  • ‘हेर्दाहेर्दै’ मा रहेको सन्दीपको मुद्दामा आज पुनः सुनुवाइ हुँदै

    ‘हेर्दाहेर्दै’ मा रहेको सन्दीपको मुद्दामा आज पुनः सुनुवाइ हुँदै

    काठमाडौं –  क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज (सोमबार) पुनः सुनुवाइ हुँदैछ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा रहेकाले आज पनि सोही इजलासमा सुनुवाइ हुन लागेको हो ।

    नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालत पाटनले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

    काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदन र क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै लामिछानेले दिएको निवेदनलाई सँगै राखेर आइतबार बन्द इजलासमा सुनुवाइ भएको थियो ।

    महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले बहस गर्दै धरौटीमा छाड्ने उच्च अदालतको आदेश त्रुटिपूर्ण भएको तर्क गरेका थिए । उनीहरुले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गरेका थिए ।