धनगढी– बैङ्क तथा वित्तीय संस्थाले बढाएको व्याजदरविरुद्ध आन्दोलनमा उत्रेका कैलालीका व्यवसायीले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन्।
सोमबारदेखि आफ्नै व्यवसाय बन्द गरेर आन्दोलन गर्ने गरी व्यवसायीले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन। बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर फिर्ता गर्नु पर्ने मागको सुनुवाइ नभएकोले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए।
‘अहिलेसम्म हामीले अरुको लागि व्यापार, व्यवसाय बन्द गर्दै आएको थियौं’, कैलाली उद्योग वाणिज्य संघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘अब आफ्नै लागि व्यापार व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन्छौं।’
माग पूरा गराउनका लागि सालिन तरिकाले आन्दोलन गर्दा राज्यले सुनुवाई नगरेको व्यवसायीहरुको भनाइ छ। भोलिदेखि फागुन २० गतेसम्म हरेक दिन धनगढीमा प्रदर्शन गर्ने र ९ देखि ११ बजेसम्म दुई घण्टा व्यापार, व्यवसाय बन्द गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ।
सालिन तरिकाले माग राख्दा सुनुवाइ नभएकाले अब दबाब सिर्जनाका लागि व्यापार व्यवसाय बन्द गर्ने संघका वरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले बताए। ‘त्यसै पनि अहिले व्यापार, व्यवसाय धरासयी भएर बन्द जस्तै छ’, उनले भने।
बैङ्क तथा वित्तीय संस्थाले एकैचोटी ब्याजदर बढाएर १७ प्रतिशसम्म पुर्याएपछि समस्यामा परेको व्यवसायीले बताएका छन्। सात÷आठ प्रतिशत लिइदै आएको ब्याजदर एकैचोटी आधाभन्दा बढी बढाएर १७ प्रतिशत पुर्याएपछि ऋण तिर्न नसके व्यवसायी पेसाबाटै पलायन हुने अवस्था आएको उनीहरुको भनाइ छ। चर्को ब्याजले गर्दा व्यवसाय नै धरासयी भएको वरिष्ठ उपाध्यक्ष ओझाले बताए।
माग सुनुवाइ नभएमा चैत १ गतेबाट आन्दोलनका कार्यक्रम अझ सशक्त र कडा बनाइने उहाँले बताए।