झलनाथ खनाल भन्छन् : आठ दलीय गठबन्धनको ठेगान छैन - Chaitanya News
  • 2026-05-09
  • 22:12:05
  • शनिबार,बैशाख २६, २०८३
  • झलनाथ खनाल भन्छन् : आठ दलीय गठबन्धनको ठेगान छैन

    झलनाथ खनाल भन्छन् : आठ दलीय गठबन्धनको ठेगान छैन

    काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले हाल राष्ट्रपति निर्वाचनको लागि बनेको आठ दलीय गठबन्धनको ठेगान नभएको बताएका छन्।

    वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुन नससक्ने टिप्पणी गरे।

    उनले भने, ‘देश जुन तरिकाले अघि बढिरहेको छ। यी गठबन्धन कति र कसरी बन्ने हुन् अहिले यसै भन्न सकिन्न।’

    खनालले समाजवादी पार्टीले नेपाली समाजवादको विशेष रुप कस्तो हुन्छ भन्ने विषयमा लागिरहेको बताए।

    ‘देश समाजवादी क्रान्तिको रुपमा अघि बढिरहेको हाम्रो पार्टीको धारणा छ’ उनले भने, ‘हाम्रो पार्टी त्यही दिशामा अघि बढिरहेको छ।’

    उनले वामपन्थीहरु एक ठाउँमा आउने हो भने केही परिवर्तन हुनसक्ने औँल्याए।

    उनले भने, ‘अहिले नेपालका वामपन्थीहरु एक ठाउँमा आउने हो भने केही परिवर्तनमा अवस्थाहरु छन्। तर वामपन्थीहरुमा अर्कै रुप देखिन्छ। समाजवादीलाई बलियो लडाकु पार्टीको रुपमा स्थापित गर्नुपर्ने छ।’

    यस्तै, खनालले राष्ट्रपतिको बारेमा आफ्नो चर्चा आएको तर, पछिल्लो दशकमा सत्ता प्राप्तिको लागि नेताहरु र्याल चुहाइरहेका देख्दा आफू त्यो बाटोमा नदौडिएको दाबी पनि गरे।

    साथै उनले तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना न्यून रहेको पनि स्पष्ट पारे।