काठमाडौं– सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ। आज आइतवार बहस नसकिएपछि लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो।
यस मुद्दामाथि भोलि सोमवार बहस हुने भएको छ। आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको हो। बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसका विरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए। उच्च अदालतले विदेश जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
त्यसका विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो। त्यस्तै लामिछानेले पनि विदेश जान पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए। सर्वोच्चले दुवै निवेदनलाई एउटै ठाउँमा राखेर सुनुवाइ तोकेको थियो। सोमवार पनि न्यायाधीशद्वय मल्ल र चुडालकै इजलासमा सुनुवाइ हुनेछ।