काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई धोका दिएको बताएका छन्।
आइतबार दिउँसो काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘उहाँ (प्रचण्ड) धोका दिन अप्ठ्यारो मान्नुहुन्न। उहाँले मलाई पनि धोका दिनुभयो।’
२०६२–६३ सालमा जनयुद्धका नाममा हिंसाको अभियान सुरु गरेको र आफूलाई साथ दिने शहीद तथा बेपत्ताहरूलाई पनि धोका दिएको उल्लेख गर्दै उनले थपे, ‘बेपत्ता, शहीदहरूलाई त धोका दिने प्रचण्डजीले मलाई दिनु कुनचाहिँ ठूलो कुरा भयो र?
ओलीले जनयुद्धपछि लगातार सरकारमा रहँदा पनि प्रचण्डले बेपत्ता तथा शहीद परिवारका लागि केही नगरेको टिप्पणीसमेत गरे। ‘लामो समयदेखि जो सत्तामै छ, यति तिरन्तर ढङ्गले सरकारमा हुँदा पनि आफूलाई त्यो स्थानसम्म पुर्याउनेलाई चाहिँ केही छैन,’ उनले भने।
ओलीले प्रचण्डसँग देब्रेतिर हेर्ने र दाहिनेतिर निशाना गर्ने बानी रहेको बताए। जोसँग मिलेर भए पनि सरकारमै रहनुपर्ने प्रवृत्ति प्रचण्डको रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘बिरालो किन्नु पर्दैन, दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। प्रचण्डजी त्यो बिरालोजस्तै कसले कचौरामा कसले बढी दूध र भात दिन्छ, त्यतै जानुहुन्छ । यसैगरी, नै भए पनि उहाँ सत्तामै हुनुहुन्छ।’