भक्तपुर– विकास निर्माणका कामको अनुगमनमा गएका मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठमाथि हातपात भएको छ।
नगरपालिकाको मध्यपुर थिमि नगरपालिका वडा नं ५ बस्ने सुमन जोशी लगायतका समूहहरूले उपमेयरमाथि हातपात गरेको नगरपालिकाले जनाएको छ।
नगरपालिका र नेकपा माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले छुट्टा छुट्टै विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । उपमेयर श्रेष्ठ माओवादीको मध्यपुर थिमि नगर कमिटी अध्यक्षसमेत हुन्।
बालकुमारी हात्तिमहाकाल सडक आयोजनाको योजना सुरु गर्ने क्रममा दुई पोखरी टोलमा ढुङ्गा विच्छाउने कार्यको लागि गत माघमा नगर प्रमुख र नगर उपप्रमुखको उपस्थितिमा बालकुमारी हात्तिमहाकाल सडक उपभोक्ता समिति गठन भएको थियो।
सो कार्य सञ्चालन गर्नका लागि सहजीकरण गर्न कार्यस्थलमा उपस्थित भई कार्य गरिरहेको अवस्थामा हातपात भएको नगरपालिकाले जनाएको छ। हातपात गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।