दमक– झापाको कचनकवल गाँउपालिकाले डिजिटल किसान सहायता केन्द्र स्थापना गरेको छ। विभिन्न दातृ निकायको सहयोगमा गाँउपालिकाले कृषि सहायता केन्द्र स्थापना गरेको गाँउपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिएका हुन।
स्थानअनुसार जलवायु मैत्री कृषि विस्तार, बाली तथा पशु सम्बन्धि समस्या सामधानका लागि सहयोग, स्वचालित स्मार्ट सूचना, विभिन्न कृषि विज्ञहरुसँग छलफल तथा अन्तरक्रियाका लागि यसले सहजिकरण गर्नेछ। यो एक प्रकारले ‘डिजिटिल प्लेट फर्म’ भएकोसमेत जानकारी गराइएको छ।
किसानहरुले सहायता केन्द्रमार्फत ‘जिओ कृषि’ एप डाउनलोड गरेर कृषि सम्बन्धिका जानकारी लिन सक्ने भट्टराईले बताए। किसानले मौसमको विषयमा जानकारीदेखि हाटबजारको सागशब्जि तथा फलफुलको मूल्यसम्म जानकारी लिन सक्ने छन्। यसका साथै अनलाइन तथा अफलाइन माध्यमबाट कृषि सम्बन्धि कुनैपनि समस्याहरु किसानले राखेमा सामधान पनि गर्न सक्नेछन्।
व्यापारिक र साना कृषकहरूले सामना गर्ने चुनौतीहरू समाधान गर्न निर्मित डिजिटल कृषि प्लेटफर्मको माध्यमबाट किसानहरु सूचना केन्द्रमा जोडिनेछन्। किसानलाई मोवाइल एपमार्फत धेरै विषयमा जानकारी दिन सकिने भएकाले यसले आधुनिक रुपमा खेती गर्न सक्ने किसानहरुका लागि धेरै नै लाभान्वित हुनेसमेत बताइएको छ।
यसअघि यसै साता झापाकै कन्काई नगरपालिकामा पनि यस प्रकारको सूचना केन्द्र स्थापना गरिएको हो।