राष्ट्रपतिका लागि सर्वसम्मतिको प्रयास भइरहे छ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-05-09
  • 22:08:10
  • शनिबार,बैशाख २६, २०८३
  • राष्ट्रपतिका लागि सर्वसम्मतिको प्रयास भइरहे छ : प्रधानमन्त्री प्रचण्ड

    राष्ट्रपतिका लागि सर्वसम्मतिको प्रयास भइरहे छ : प्रधानमन्त्री प्रचण्ड

    गोरखा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिका लागि सर्वसम्मतिको प्रयास भइरहेको बताएका छन। गोरखाको बारपाक सुलिकोटमा आयोजित माओवादी जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले सर्वसम्मतिका लागि २५ गतेसम्म कोशिस गर्ने बताए। ‘‘हाम्रो प्रयास छ कि २५ गतेसम्म जाँदा राष्ट्रपतिमा सर्वसम्मति भए धेरै राम्रो हुन्छ। त्यो प्रयास पनि हामी गरिराखेका छौं,’’ उनले भने ‘‘नभए पनि नयाँ यात्रा, स्थायित्व र विकासका निम्ति अझ सहयोगी हुने मैले विश्वास लिएको छु।’’

    निर्वाचन अघि गठबन्धन बनाएर होमिएका दल फेरि एकठाउँमा आइपुगेको उनले बताउनुभयो। यसले नयाँ राजनीतिक यात्राको सुरु भएको उनको भनाइ छ। ‘‘जुनजुन राजनीतिक दल मिलेर जनतामा भोट माग्न गएका थियौं। परिस्थिति नयाँ बन्यो म प्रधानमन्त्री भिन्न तरिकाले बनेँ,’’ उनले भने हिजो मात्र फेरि (शनिबार) राष्ट्रपतिको चुनावका सन्दर्भमा आउँदा आठ राजनीतिक दल एक ठाउँमा भएका छौं। नेकपा (एमाले)सँग पनि लगातार हाम्रो कुरा भइरहेको छ।’’

    आफ्नो बाँकी जीवन विकास समृद्धिका लागि खर्च गर्ने यसअघि नै घोषणा गरेको बताउँदै उनले सरकारलाई जनमुखी र प्रतिफलयुक्त बनाउने दाबी गरे। देश आर्थिक समस्यामा रहेको भन्दै त्यसको सुधारका लागि सरकार लागिपरेको उहाँको भनाइ छ।

    नेकपा (माओवादीका केन्द्र)का अध्यक्षसमेत रहनुभएका उहाँले सरकारले जनयुद्ध र जनआन्दोलनका शहीदलाई सम्मान दिन लागेको बताए। ‘‘मैले आज बिहान मात्र मुख्य सचिवलाई बोलाएर जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण शहीदलाई राष्ट्रिय शहीदको रुपमा राजपत्रमा नाम प्रकाशित गर्ने सोच बनाएको छु,’’ उनले भने यो निर्णयले परिवर्तनका पक्षमा बलि दिनेहरुप्रति सम्मान हुनेछ।

    नेपाली सेनाको हेलिकप्टरमार्फत आएका प्रधानमन्त्री प्रचण्डले शहीद परिवारलाई सम्मान गरेका थिए। उनले दिलबहादुर रम्तेलका बुबा सेते रम्तेल र आमा सरिमायाँ रम्तेललगायत माओवादी जनयुद्धमा ज्यान गुमाएकाको परिवार र आफन्तलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। प्रधानमन्त्री प्रचण्डले पालुङटारमा आयोजित एक कार्यक्रमलाई पनि सम्बोधन गरेका छन।

    कार्यक्रममा माओवादी केन्द्रका सचिव एवं प्रमुख सचेतक हितराज पाण्डे, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङलगायतले गोरखा दुईको विकासका लागि विशेष जोड दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए। गोरखा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनले जिल्लाको विकासका लागि प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन।