बुटवल– बसको ठक्करबाट बुटवलमा पत्रकारको ज्यान गएको छ। बुटवलको मिलनचोक नजिकै भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ।
शनिबार राति करिब सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताललाईनतर्फ गइरहेका हितंगा सवार लु ८ प ९०६८ नम्बरको मोटरसाईकल र अस्पताललाईन तर्फबाट मिलनचोक तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश०७–०२–००१ ख १२२६ नम्बरको यात्रु बाहक बस बसपार्क नजिकै बसले ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनाबाट गम्भीर घाइते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ।
लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनको रुपमा कार्यरत हितंगा पछिल्लो समय एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददाताको रुपमा कार्यरत थिए।
पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिब १५ वर्ष देखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए। हितंगाका बुवा,एक श्रीमती २ भाइ रहेका छन्। दूर्घटनामा परी ज्यान गुमाउनु भएका हितंगाको निधनले सिगा रुपवन्देहीको पत्रकारितालार्ई स्तब्ध तुल्याएको छ।