पोखरा – कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले कुटपिट गरेको भन्दै अस्सिटेन्ट सवइन्जिनियरले प्रहरीमा उजुरी दिएका छन्। सवइन्जिनियर लक्ष्मण जिसीले शुक्रबार जीउँ ज्यानको सुरक्षा तथा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन्।
शुक्रबार विहान वडाध्यक्ष रामबहादुर गुरुङले गालीगलौज गर्दै कुटपिट गरेको जिसीले बताए। जिसीले प्रहरीमा दिएको उजुरीमा टाउको, नाक, कान, घाँटी र शरिको विभिन्न भागमा चोट लाग्ने गरेर कुटपिट गरेको उल्लेख छ।
वडाध्यक्षले आफूले भने बमोजिम नभएपछि कुटपिट गरेको जिसीले बताए। आफू असोजमा वडा कार्यालयमा हाजिर हुन गएदेखि नै वडाध्यक्षसँग टसल परेको बताउँछन्।
वडाध्यक्ष गुरुङले हेल्मेटले प्रहार गर्न लागेपछि धकेल्दा ठोक्किएको बताउँछन्। उनी भन्छन्, ‘उहाँ १० बजेर ४६ मिनेटमा भित्र छिर्नुभो। किन ढिला भनेर भने। उहाँले प्राविधिक यस्तै हो भन्नुभो। हेल्मेट ताक्नुभो। जुरुक्क उठेर धकेल्दा ठोक्कियो।’
ल्वाङ सामुदायीक होमस्टेले प्रदेशबाट अनुदान लिनलाई स्टेमट गर्न नमानेपछि विवाद सुरु भएको वडाध्यक्ष गुरुङले बताए। अस्सिटेन्ट सवइन्जिनियर जिसीले पनि वडाध्यक्षले स्टेमेट गर्न लगाएको काम व्यस्त भएर नसक्दा कुटपिट भएको बताउँछन्।
