काठमाडौं- बालुवाटारमा बसेको चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलको बैठक साँझ ५ बजे फेरि बस्ने निर्णय गरी सकिएको छ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले साँझ पाँच बजे पुन: बैठक बसेर राष्ट्रपतिको उम्मेदवार टुंग्याउने सहमति गरेका हुन्।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका शीर्ष नेताहरू सहभागी थिए । साँझ बैठक बस्नु अघि चार दलका शिर्ष नेताहरुले आ-आफ्नो दलमा आन्तरिक छलफल गर्ने बैठकमा सहभागी नेताहरुले बताए।
बैठकको जानकारी दिदैं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज बिहान भएको बैठकमा राष्ट्रपति निर्वाचनबारे विभिन्न विकल्पमा छलफल भएको बताए । उनले यसको निर्णय गर्न ५ बजे बैठक बस्ने बताए । उनले भने, ‘अहिले आफ्नो-आफ्नो दलमा छलफल गरेर साझ ५ बजे पुन: बैठक बस्ने छ ।’
राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा एकै ठाउँमा उभिने सहमती जस्तै भएको थापाको भनाई छ ।
उनले आज राष्ट्रपतिको उम्मेद्वारबारे आज टुङ्गो लाग्ने समेत बताए । उनले भने, ‘राष्ट्रपति निर्वाचनमा हाम्रो तर्फबाट प्रस्ताव आएको छ । अन्य दलबाट पनि फरक फरक प्रस्तव आएको छ । तर, हामी चार दल एकै ठाउँमा उभिन्छौं भन्ने विषयमा प्रष्ट भयौं ।’
बैठकमा कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको थियो ।तर कांग्रेस बाहिरबाट बन्ने उम्मेदवारलाई पनि सघाउनुपर्ने प्रस्ताव अन्य दलले राखेपछि अहिलेको बैठक निष्कर्षमा पुगेन ।