बाइकमा हेल्मेट क्यामरा र मोबाइल होल्डर जोड्न पाइन्छ : उच्च अदालत - Chaitanya News
  • 2026-10-29
  • 05:09:18
  • बुधबार,कार्तिक १२, २०८३
  • बाइकमा हेल्मेट क्यामरा र मोबाइल होल्डर जोड्न पाइन्छ : उच्च अदालत

    बाइकमा हेल्मेट क्यामरा र मोबाइल होल्डर जोड्न पाइन्छ : उच्च अदालत

    काठमाडौं– पाटन उच्च अदालतले बाइकमा हेल्मेट क्यामरा तथा मोबाइल होल्डरलगायतका उपकरण जोड्न पाउने आदेश जारी गरेको छ। गत मङ्सिर २१ गते चक्रवती ल कलेजमा अध्ययनरत छात्र डेविड चौधरी र आर्यनराज पाण्डेले दायर गरेको रिटको फैसलागर्दै अदालतले उक्त आदेश जारी गरेको हो।

    मोटरसाइकलमा मोबाइल होल्डर र हेल्मेट राख्न दिई सवारीसाधन निवार्ध रुपमा चलाउन दिनू र सो प्रयोग गरेवापत जरिवाना गर्ने कार्य रोक्नू भन्ने विषय समसामायिक, जायज र कानून अनुकूल नै देखिँदा ती उपकरण प्रयोगबाट हुन सक्ने सबल र निर्वल पक्षहरुको प्राविधिक अध्ययन र विश्लेषण गरी नियमन गर्नतर्फ आवश्यक कारबाही गरी उपयुक्त कानूनी मापदण्ड निर्धारण गर्नू भनी विपक्षीको नाउँमा परमादेश हुने ठहर्छ’, आदेशमा उल्लेख छ।

    फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन। अदालतको उक्त आदेश ट्राफिक प्रहरी कार्यलयमा दर्ता गराउन लागिएको निवेदक चौधरीले जानकारी गराए।

    बाइकलगायतका सवारीसाधनमा उक्त उपकरण जडान गर्दा दुर्घटनाको जोखिम बढ्ने भन्दै ट्राफिक प्रहरीले केही समयदेखि दुई पाङ्ग्रे सवारीसाधनमा उक्त उपकरण जडान गर्नबाट रोक लगाउँदै आएको थियो। जसका कारण विशेष गरी पठाओ, इनड्राइभरलगायतका राइडर तथा मोटो भ्लगरहरु मर्कामा पर्दै आएका थिए।