काठमाडौँ – राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता गर्ने दिन शनिबार नजिकिदै गर्दा दलहरु सहमति बनाउन दौडधुपमा व्यस्त देखिएका छन् । पछिल्लो घटनाक्रमको विश्लेषण गर्दा कांग्रेसले राष्ट्रपति पाउने देखिएको छ ।
बुधबार भएका छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसलाई राष्ट्रपति दिन सशर्त सहमत भएको देखिएको छ । जस अनुसार उनी आफु चार बर्ष प्रधानमन्त्री बन्ने र एक बर्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने शर्तमा कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डको प्रस्तावलाई कांग्रेसले सकारात्मक रुपमा लिएको नेताहरुले बताएका छन् । सम्भवत कांग्रेस, माओवादी र एकीकृत समाजवादीले आज साँझसम्म यस समझदारीलाई लिखित रुपमै सहमति गर्ने गरि तयारी गरेको बताइएको छ ।
अब राष्ट्रपति पदमा कांग्रेसले कसलाई उम्मेदवार बनाउछ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला राष्ट्रपतिको दौडमा रहेका छन् ।
कांग्रेस भित्र सभापति शेरबहादुर देउवा राष्ट्रपति बन्नु पर्छ भन्ने हरु पनि रहेका छन् । यसै प्रसंगमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यस विषयमा बुधबार सामाजिक सञ्जालमा भनेका छन्- सभापतिलाई राष्ट्रपति बनाएर बरिष्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक । दलिय दृस्टीले मेरो प्रस्ताव उचित । तर कार्यकारी बनिसकेका कसैलाई पनि राष्ट्रपति बनाउनु अनुपयुक्त, साथीहरूको यो विश्लेषण बढी परिपक्व छ । `मेरो बुझाइ नै अन्तिम सत्य´ यस्तो भ्रममा म कहिल्यै रहन्न ।’
तर सभापति देउवा भने यस पटक रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने पक्षमा देखिएका छन् । पछिल्लो समय पौडेलले आफ्नो राजनीतिक क्यारियर नै दाउमा राखेर देउवालाई सहयोग गरेका थिए । पछिल्लो महाधिवेशनमा देउवालाई सभापतिमा निर्वाचित गराउन पौडेल तटस्थ बसेका थिए भने संसदीय दलको नेताको निर्वाचनमा पौडेलले देउवालाई खुलेर सहयोग गरेका थिए । साथै प्रधानमन्त्री प्रचण्ड पनि पौडेललाई राष्ट्रपति बनाउन सकारात्मक देखिएका छन् । पौडेलले निर्वाचनपछि प्रचण्डलाई कांग्रेसकै समर्थनमा प्रधानमन्त्री बनाउन प्रयास समेत गरेका थिए तर देउवा तयार नभएपछि प्रचण्डले एमालेसँग सहकार्य गरेका थिए । त्यसबेला पनि पौडेलले प्रचण्डको गल्ति नभएको भन्दै कांग्रेस नेतृत्वले गल्ति गरेको बताएका थिए ।
त्यस्तै अर्को तर्फ कांग्रेस नेता सिटौलाले पनि राष्ट्रपतिको उम्मेदार बन्ने चाहना राखेका छन् । सिटौलाले प्रधानमन्त्री प्रचण्डले नै आफुलाई राष्ट्रपतिको रुपमा अगाडी सार्ने गरि रणनीति बनाएको भएपनि त्यसले अहिले काम नगरेको देखिएको छ । यसका लागि उनले केहि विदेशी शक्तिलाई समेत प्रयोग गरेको कांग्रेस भित्र चर्चा रहेको छ ।
यसरी अहिलेसम्मका घटनाक्रमलाई विश्लेषण गर्दा कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना देखिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई राष्ट्रपति दिन सकारात्मक भएपछि कांग्रेसले पार्टीबाट निर्णय गर्न लागेको हो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले आफुलाई चार बर्ष र एक बर्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री दिने गरि कांग्रेसलाई राष्ट्रपति दिन प्रस्ताव गरेको बुझिएको छ । यस प्रस्तावमा कांग्रेसले आजको बैठकमा छलफल गर्ने बताइएको छ ।