काठमाण्डौ – उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताएका छन।
आज बुधवार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अर्थ मन्त्री पौडेलले सरकारले लघुवित्तमा देखिएका समस्या समाधानका लागि गम्भिररूपमा सरोकारवालाहरूसँग छलफल गरिरहेको बताए । विभिन्न चरणमा बैठक बसेर केही महत्त्वपूर्ण निर्णयहरू समेत भइसकेको उनको भनाइ छ।
उनले भने ‘लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै होइन, यो विषयमा गम्भीर भएर सरोकारवालाहरूसहित बैठक बसेका छौँ, केही महत्त्वपूर्ण निर्णयहरू पनि गरेका छौँ।’
अर्थ मन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरू प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायहरूले काम सुरु गरेको बताए। उनले चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे।
मन्त्री पौडेलले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयगत आधारमा कार्ययोजनाहरू अगाडि बढाएको पनि बताए। उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीको समाधान गर्न सरकार केन्द्रित भइरहेको दाबी गरे। अर्थ मन्त्री पौडेलले राजस्व परिचालन,अन्तर्राष्ट्रिय सहयोग परिचालन र पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागिरहेको बताए।