काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताएका छन।
आज बुधवार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन। उनले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताए। राष्ट्रपति चुनाव देशका लागि महत्त्वपूर्ण एजेन्डा भएको उल्लेख गर्दै उनले आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताए।
नेता खनालले भने, ‘सचिवालय बैठकमा अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराए। तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्नेबारेमा रिपोर्टिङ भएन। त्यसैले हाम्रो पार्टीलाई राष्ट्रपति प्रस्ताव आएको भन्ने बाहिरको हल्लामात्रै रहेछ।’
त्यस्तै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए। उनले प्रतिगामी हर्कतहरू बढिरहेको भन्दै त्यसलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरूसँग छलफल अघि बढाउन बैठकमा निर्णय भएको बताए।
उपमहासचिव खतिवडाले पनि राष्ट्रपतिका लागि कुनै पनि पार्टीले आफ्नो पार्टीलाई प्रस्ताव नगरेको दाबी गरे।