काठमाडौं– नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले २ वटा निर्णयहरू गरेको छ।
बुधबार पार्टी मुख्यालय आलोकनगरमा बसेको बैठकबारे जानकारी दिँदै उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘हाम्रो आजको बैठकले मूलत २ वटा निर्णय गरेको छ।’
एकीकृत समाजवादीले गरेको पहिलो निर्णयमा ‘लोकतन्त्रवादी र अग्रगमनकारीहरू एकठाउँमा उभिऔँ’ भन्ने। ‘केही दिनयता संविधानविरुद्ध धेरै प्रकारका गतिविधिहरू भइरहेका छन्। संविधानलाई अन्त्य गर्न, राजतन्त्र ब्युँताउन, हिन्दू राज्य फर्काउन र संविधानलाई समाप्त पार्न गतिविधिहरू सञ्चालन भएका छन्। यो प्रतिगामी हर्कतहरू बढिरहेको अवस्थालाई मनन गरेर अग्रगमन पक्षधर एकठाउँ उभिनुपर्ने अवस्था छ। हाम्रो पार्टीले यही आह्वान गरेको छ,’ उनले भने।
यस्तै एकीकृत समाजवादीले राष्ट्रपतिका लागि कुनै प्रस्ताव नआएको प्रष्टीकरण दिएको छ। भावी दिनमा प्रस्ताव आएको खण्डमा छलफल गरेर आवश्यक निर्णय लिने आजको बैठकको दोस्रो निर्णय छ।
‘अहिलेसम्म कुनै पक्षबाट राष्ट्रपतिका लागि प्रस्ताव आएको छैन। यदि पछि आयो भने त्यसलाई छलफलकै माध्यमबाट टुङ्ग्याउँछौँ,’ खतिवडाले भने।
यस्तै उनले राष्ट्रपति राष्ट्रिय सहमतिबाटै टुङ्गिने बताए।