बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई तत्काल कारबाही गर्न महामन्त्री थापाको माग - Chaitanya News
  • 2026-05-09
  • 18:51:04
  • शनिबार,बैशाख २६, २०८३
  • बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई तत्काल कारबाही गर्न महामन्त्री थापाको माग

    बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई तत्काल कारबाही गर्न महामन्त्री थापाको माग

    काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग गरेका छन्। बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्न माग गरे। थापाले लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको बताए।

    उनले लघुवित्तका कारण कयौं गरिब जनता माथि उठ्न नसक्नेगरी थला परेको टिप्पणी गरे। उनले लघुवित्त संस्थाहरुले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको बताए। उनले अब एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न र सुपरीवेक्षण कार्यलाई तल्लो तहसम्म लैजान समेत माग गरे।

    उनले भने, ‘अति न्युन आय भएका गरिबीको आहालबाट निकाल्नको लागि काम होला भनेको गरिबहरु उठ्न नसक्ने गरी थला पर्न बाध्य भएका छन्। अनुचित नाफा कमाउनको लागि जे पनि गर्ने लघुवित्त संस्था र तत्कालको गर्जा टार्न जस्तो पनि ऋण लिने ग्राहकहरु। अनुमति लिँदै गर्दा हात फैल्याउने र सुपरीवेक्षण गर्दै गर्दा मुठी कस्ने राष्ट्र बैंकको कारणले लघुवित्तको समस्या देखिएको हो।’

    सांसद थापाले भने, ‘लघुवित्तको वास्तविक मर्कामा परेकाहरुको लागि सामाजिक उत्तरदायित्व वा निक्षेपकर्ता कोषको प्रयोग गर्ने र बदलियत नियतका साथ काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्ने र एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन र सुपरीवेक्षण कार्य तत्लो तहसम्म गर्ने र वित्तीय साक्षरतालाई स्थानीय सरकारको साझेदारीमा तत्लो तहसम्म लैजाने काम राष्ट्र बैंकले तत्काल गरोस् भनेर ध्यानाकर्षण गराउँछु।’

    उनले राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन र सुपरिर्वेक्षण कार्य र वित्तिय साक्षरतालाई स्थानीय सरकारको साझेदारीमा तल्लो तहसम्म लैजाने काम राष्ट्र बैंकले तत्काल गर्नुपर्ने बताए।