राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् प्रशिद्ध शक्तिपीठ बागलुङ कालिकाको दर्शन - Chaitanya News
  • 2026-05-15
  • 19:15:22
  • शुक्रबार,जेठ ०१, २०८३
  • राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् प्रशिद्ध शक्तिपीठ बागलुङ कालिकाको दर्शन

    राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् प्रशिद्ध शक्तिपीठ बागलुङ कालिकाको दर्शन

    बागलुङ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरको दर्शन गरेकी छन्। राष्ट्रपति बनेपछि पहिलो पटक कालिका भगवती मन्दिरको दर्शन गर्न आएकी भण्डारीले विशेष पूजाआराधना गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए।

    राष्ट्रपति भण्डारीले मन्दिरमा १० मिनेट पूजाआजा गरेकी थिइन्। पूजापछि कालिका भगवती मन्दिरका मुख्य पुजारी जयबहादुर खड्काबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी हुन्।

    हेलिकोप्टरबाट बागलुङ आएकी राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेशका सभासद दिपेन्द्र बहादुर थापा,कृष्णप्रसाद पाठक,गोविन्द नेपाली, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ,कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का,बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ लगायतहरूले स्वागत गरेका थिए।

    बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । मन्दिरमा देशभरीका दर्शनार्थीहरू र छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गर्दछन्। मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग सन् १५९१ मा गरिदिएपछि छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास रहेको अध्यक्ष खड्काले बताए।

    बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरूको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ। मन्दिरको दर्शन गर्न जानेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रलाभ,सन्तान नहुनेलाई सन्तान,विवाह नभएकोलाई उचित बरवधु,परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ।

    कालिका भगवती मन्दिरमा वर्षको दुई पटक चैते दशैं र वडा दशैंमा दर्शनार्थीको भीड लाग्ने गर्दछ। मन्दिरमा माघ र साउन महिनाबाहेक वर्षभरी नै दर्शनार्थीको चहलपहल हुने गर्दछ।

    मन्दिरमा प्रत्येक मंगलबार,शनिबार र अष्टमीलगायत विभिन्न तिथीहरूमा भक्तजनहरूको बढी भीड लाग्ने अध्यक्ष खड्काले बताए। माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरूको भीड कम हुने गरेको अध्यक्ष खड्काको भनाइ छ।

    कालिका भगवती मन्दिरलाई अहिले पुनर्निर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिएको छ। अध्यक्ष खड्काले मन्दिरको पुराना इँटा निकालेर भक्तपुरे इँटा लगाइएको र तामाको छानोले छाइएको बताए।

    उनले मन्दिर वरपरका अन्य मन्दिरहरू (शिव मन्दिर,हवन कुण्ड) लाई कलात्मक रुपमा निर्माण भइरहेको बताए।