काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसले जनताको जीवनस्तर उकासेको दाबी गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले २०४६ सालको परिवर्तनले सबै समस्या खडा गर्यो भन्ने कुरा स्थापति गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘एक समय यहाँ सुनै सुन फल्थ्यो भन्ने भाष्य स्थापित गरिँदैछ। नेपालीको औषत आयु ५२ वर्ष थियो। ६० प्रतिशत जनता गरिबीको रेखामुनि थिए,’ महतले भने, ‘नेपाली कांग्रेसले जनतालाई जीवनस्तर उकास्यो। देशमा स्कुल कलेज, खानेपानी, सडक पुर्याउने काम भयो। २०४६ सालको परिवर्तनले नै सबै समस्या खडा गर्यो भन्ने कुरा स्थापित गरिँदैछ।’
पहिलेको निरंकुश अवस्था ठीक थियो भन्न सकिने उनको भनाइ थियो। ‘बोल्न पाइँदैन थियो। प्रतिस्पर्धाबाट विदेश अध्ययन गर्न जाँदा पासपोर्ट पाइँदैनथ्यो। हिंसात्मक द्वन्द्वको कारणले आर्थिक विकासको रफ्तारले ब्रेक लाग्यो। पहिलेको निरंकुश अवस्था ठीक थियो भन्न सकिँदैन,’ उनले भने।
अहिले अर्थतन्त्रमा समस्या देखिएको तर समाधान गर्न सकिएको महतले बताए। देशको समस्या समाधान गर्न साझा धारणा तय गर्नु पर्ने त्यसका लागि कांग्रेसले सरकारलाई सहयोग गर्ने उनले बता।
उनले भने, ‘अर्थतन्त्रमा समस्या छन्, यसलाई समाधान गर्न सकिन्छ। देशको समस्या समाधन गर्न, साझा धारणा तय गरौँ। विपक्षी दल भए पनि सरकारलाई सहयोग गर्न तयार छौँ।’
२०७४ सालपछि कम्युनिष्ट पार्टीको सरकारले कामभन्दा बढी कुरा गरेको उनले उल्लेख गरे। तर कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले भने कोरोना महामारी नियन्त्रण गरेको र दुई वटा चुनाव सम्पन्न गराएको बताए।
‘२०७४ सालपछि कम्युनिष्ट सरकारले कामभन्दा कुरा बढी गर्यो,’ उनले भने, ‘चार वर्षमा हुन नसकेको काम कांग्रेसले एक वर्षमा गर्न सकेन भन्न खोजिएको छ। दुई वटा चुनाव गरियो, कोरोना महामारीलाई सहज बनाउने काम पनि यहि अवधिमा भएको हो।’