प्रधानमन्त्री प्रचण्डसँँग चिनियाँ राजदूतको भेटवार्ता, राष्ट्रपति निर्वाचनबारे चासो - Chaitanya News
  • 2026-05-09
  • 18:50:42
  • शनिबार,बैशाख २६, २०८३
  • प्रधानमन्त्री प्रचण्डसँँग चिनियाँ राजदूतको भेटवार्ता, राष्ट्रपति निर्वाचनबारे चासो

    प्रधानमन्त्री प्रचण्डसँँग चिनियाँ राजदूतको भेटवार्ता, राष्ट्रपति निर्वाचनबारे चासो

    काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लाग चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका छन् ।
    राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

    सोङले प्रचण्डसँग आगामी राष्ट्रपति को बन्ने भन्नेबारेमा जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले दलहरुबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने जानकारी गराएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    छन् सोङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यस अगाडि भेट गरेका थिए। प्रधानमन्त्री प्रचण्डसँग माघ २ गतेको भेटमा बीआरआई परियोजना कार्यान्वयन, नेपालको पूर्वाधार विकास, नेपाल–चीनबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

    भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वाधार विकासका साथै यसअघिका सम्झौता कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाएको बताए। राजदूत सोङले नेपालको आर्थिक एवम् भौतिक पूर्वाधारको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहने जानकारी गराएका थिए ।

    राष्ट्रपति निर्वाचनमा चीन,भारत, अमेरिकादेखि युरोपियन युनियनको चासो देखिएका छन् । चिनियाँ राजदूत छन सोङ पनि दलका शीर्ष नेतासँग भेटघाटमा सक्रिय बनेका हुन् । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाल आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । धेरैले क्वात्रा राष्ट्रपति निर्वाचनका लागि भारतीय संस्थापन पक्षको सन्देश लिएर आएको विश्लेषण गरेका छन् ।

    अमेरिकी राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टारिया नुल्यान्ड, राष्ट्रिय सुरक्षापरिषद्मा रहेकी मन्त्रीस्तरकै यूएसएडकी प्रशासक समान्था पावर, दक्षिण तथा मध्यएसियाली मामिला हर्ने ब्युरोकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरलगायतका नेपाल आएका छन् । शक्ति राष्ट्र पनि आफू अनुकूलको राष्ट्रपति बनाउन दौडधुप गरिरहेका छन् । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ । राष्ट्रपति निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको छ ।

    नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा दुईटा मतदान केन्द्र हुनेछन्। राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्।

    हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद् पद खारेज भएकाले एक पद रिक्त छ । राष्ट्रियसभामा ५९ जना सदस्य छन् । संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन् । संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ । संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो। प्रदेशसभामा ५ सय ५० छ । जसको मतभार २६ हजार ४ सय हुन्छ । राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ । जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ । राष्ट्रपति निर्वाचित हुन पाँच प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ ।