संवैधानिक भूमिका तटस्थ हुने खालको राष्ट्रपति जनताले चाहेको : पम्फा भुसाल - Chaitanya News
  • 2026-05-15
  • 18:03:40
  • शुक्रबार,जेठ ०१, २०८३
  • संवैधानिक भूमिका तटस्थ हुने खालको राष्ट्रपति जनताले चाहेको : पम्फा भुसाल

    संवैधानिक भूमिका तटस्थ हुने खालको राष्ट्रपति जनताले चाहेको : पम्फा भुसाल

    काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले संवैधानिक भूमिका तटस्थ हुने खालको राष्ट्रपति जनताले चाहेको बताएकी छन्।

    न्युट्रल भूमिका हुने राष्ट्रपति राष्ट्रिय सहमतिकै आधारमा चुनिनेसमेत उनले बताएकी छन्।

    माओवादीको भ्रातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ को प्रदेश सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै भुसालले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै राष्ट्रपतिले अभिभावकीय भूमिका निभाउन नसकेको पनि आरोप लगाइन्।

    उनले राष्ट्रपति भण्डारी नाम उच्चारण नगरे पनि दुई दुई पटक संसद्को विघटन गरेको आरोप लगाइन्। उनले संसद् विघटनको कुरा उठाउँदै सेरेमुनियल निकाय कार्यकारीको जस्तो भूमिका खेल्न सक्ने अनुभूत नेपाली जनतामा हुनुपर्ने बताइन्।

    ‘संवैधानिक भूमिका बडो न्युट्रलको हुनुपर्छ भन्ने जनताको माग छ। दुई दुई पटक संसद्को विघटन भयो। सांसदले दुई दुई पटक पास गरेर पठाएका विधेयक पास भएनन्। आवश्यक अध्यादेश राष्ट्रपति कार्यालयमा थन्किएर नचाहिँदा अध्यादेश मध्यरातमा पनि स्वीकृत भए’, उनले भनिन्।

    आवश्यक पर्ने अध्यादेश राष्ट्रपति कार्यालयमा थन्किरहेकाले पनि न्युट्रल भूमिकाको राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा बनाउनुपर्नेमा आफ्नो पार्टीको जोड रहेको बताइन्।

    आम जनताको चासो आम बुद्धिजीवीको चासो पनि राष्ट्रिय सहमतिमा हुनुपर्छ भन्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यसैमा जोड दिनुभएको छ,’ उनले भनिन् ‘अब ३–४ दिनभित्र नै यसको टुंगो लाग्छ।’

    संविधानको भूमिका निर्वाह गर्न सक्ने राष्ट्रपति हुनुपर्ने उनको भनाइ थियो। ९९.२५ प्रतिशत विश्वासको मत प्राप्त गरेको प्रधानमन्त्रीले कुनै पाटी विशेषभन्दा पनि सबैलाई समेटेर लैजान राष्ट्रिय सहमति बन्नुपर्ने उनले बताइन्।

    ‘संसद्भित्र पनि अबको राष्ट्रपति सहमतिका आधारमा हुनुपर्छ भन्ने माग छ। राष्ट्रिय सहमति, संवैधानिक व्यवस्थाको रक्षा, शान्ति प्रक्रिया, सुशासन र समृद्धि अहिलेका राजनीतिका मुख्य एजेन्डा हुन्। पात्र विशेष र कोसँग सहमति गर्ने भन्ने जिम्मा दिने निर्णय अध्यक्षलाई दिएका छौँ’,उनले भनिन्।

    उनले प्रादेशिक निजामती एन नबन्दा संघीयताको जंग बलियो नभएको पनि बताइन्।

    आफू सरकारमा हुँदा पनि संघीय निजामती ऐन बनाएर प्रदेशलाई बोटो खुला गरिदिऊँ भनेर आवाज उठाएको पनि उनले बताइन्।