हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्छ : श्रममन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-05-15
  • 18:02:56
  • शुक्रबार,जेठ ०१, २०८३
  • हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्छ : श्रममन्त्री श्रेष्ठ

    हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्छ : श्रममन्त्री श्रेष्ठ

    हेटौँडा– बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन्। समग्र उद्योग ट्रेड युनियन हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको १६ औँ अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले स्वर्णिम इतिहास बोकेको हेटौँडा सिमेन्ट उद्योगले हेटौँडा कपडा उद्योगको जस्तो अवस्था बेहोर्न नहुने बताए।

    हेटौँडा सिमेन्ट उद्योगमा रहेका समस्यालाई सुधार गर्दै उद्योगलाई बजारमा आएका प्राइभेट उद्योगसँग प्रतिस्पर्धी गर्ने क्षमता बिस्तार गर्नुपर्ने बताए।

    हेटौँडा सिमेन्ट जस्तो प्रतिष्ठित उद्योगको कारण हेटौँलाई देशभर औद्योगिक नगरको रुपमा चिनिएको भन्दै उनले सिमेन्ट उद्योगलाई जोगाएर प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले सहकार्य गरेर अघि बढने बताए।

    स्वर्णिम इतिहास बोकेर अघि बढेको उद्योगको के–कस्ता पक्षलाई सुधार गर्नसके उद्योग नियमित सञ्चालन हुन्छ, प्रतिस्पर्धामा उत्रनसक्छ भन्ने विषयमा उद्योगसँग सम्बन्धित पक्षबाट राज्यलाई पनि झकझकाउनुपर्ने भन्दै मन्त्री श्रेष्ठले सरकारी मातहतका उद्योगले कम नाफा कमाएर सेवामा ध्यान दिनुपर्नेमा जोड दिए।

    प्रदेश सरकारले उद्योगमा श्रमिकहरूले बेहर्नपरेको समस्यालाई समाधान गर्न श्रमिकमैत्री नीतिहरु अवलम्बन गर्ने भन्दै श्रम तथा रोजगारको विषयमा प्रदेश सरकारले चासोपुर्वक कामहरु अघि बढाउने बताए।