विराटनगर– विराटनगर १९ घर भएकी २८ वर्षीय प्रियंका सुनवार साहको हत्या उनकै श्रीमान्ले गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। प्रहरीले प्रियङ्काका श्रीमान् २९ वर्षीय रमेश साहलाई पक्राउ गरिसकेको छ। यस्तै कटहरी गाउँपालिका ५ का रमानन्द राम र कटहरी ५ का ३५ वर्षीय उमेश सरदारलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
रमानन्दले शव व्यवस्थापनको लागि एम्बुलेन्स खोजेको प्रहरीको दाबी छ। प्रिंयकाको आज दिउँसो मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीमा नर्सिङ चौधरीको घरको ग्वालीमा बोराभित्र शव भेटिएको थियो। घटनाको अनुसन्धान भइरहेको छ। प्रारम्भिक चरणको अनुसन्धानबाट पारिवारिक कारणले हत्या भएको देखिएको मोरङका प्रहरी प्रमुख दिपक पोखरेलले जानकारी दिए।
प्रियङ्काको हत्या आइतबार दिउँसो २ देखि ३ बजेको बीचमा भएको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारी बताउँछन्। शव भेटिएको घरधनी चौधरी र रमानन्द पहिला देखिको चिनजान रहेको थियो। त्यही भएर रमानन्दको माध्यमबाट रमेशले मोटरसाइकलमा हालेर श्रीमती प्रियंकालाई लिएर गएको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारी बताउँछन्।
स्थानीयवासी तथा जनप्रतिनिधि मिना विश्वासले घटनाको बारेमा जानकारी दिए अनुसार आइतबार उक्त घरमा दुई जना युवाहरू आएका थिए। केही समयपछि चौधरीसँग चिनजान भएका अर्का एक व्यक्तिले मोटरसाइकलमा राखेर महिलालाई त्यहाँसम्म ल्याएर छोडेका थिए। महिलालाई लिएर आएका व्यक्ति र घरधनी चौधरी घर बाहिर निस्केपछि दुईजना केटा र महिला घरमा थिए।
एक घण्टापछि चौधरी घरमा आउँदा दुईजना केटाहरू मात्रै भेटिएका थिए। उनीहरू त्यसपछि गए पनि महिलालाई चौधरीले नभेटाएको दाबी गर्दै आएका छन्। तर, चौधरीको घर परिसरमै रहेको ग्वालीमा थुपारिएको पराल र भुसको थुप्रो भित्र बोरामा हालेको अवस्थामा महिलाको शव सोमबार फेला परेको हो। महिलाको घाँटीमा निलडाम र कानमा चोट लागेको छ। मृतकको शव पोस्टमार्टमको लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको छ।