बालाजु घटनास्थलमा खटिएका दुई डिएसपी गैरजिम्मेवार देखिएका भन्दै कारबाही गर्न सिफारिस - Chaitanya News
  • 2026-05-06
  • 13:30:23
  • बुधबार,बैशाख २३, २०८३
  • बालाजु घटनास्थलमा खटिएका दुई डिएसपी गैरजिम्मेवार देखिएका भन्दै कारबाही गर्न सिफारिस

    बालाजु घटनास्थलमा खटिएका दुई डिएसपी गैरजिम्मेवार देखिएका भन्दै कारबाही गर्न सिफारिस

    काठमाडौँ– बालाजुको माछापोखरीमा प्रहरी र यातायात मजदुरहरू बिचमा भएको झडपबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ। डिआईजी मसाउद आलम खाँ नेतृत्वको समितिले छानबिन प्रतिवेदन बुझाएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिवेश लोहनीले बताए।

    फागुन १ मा भएको प्रदर्शनमा माछापोखरीमा जम्मा भएका प्रदर्शनकारीले प्रहरीको दुईवटा गाडी जलाएका थिए। माछापोखरी क्षेत्रमा खटिएका दुई जना डिएसपीको कमजोरीका कारण प्रहरीको गाडी जलेको छानबिन समितिको निष्कर्ष छ। समितिले प्रहरी वृत्त बालाजुमा कार्यरत डिएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको छ।

    प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी जलाएका थिए।

    उपत्यका प्रहरी कार्यालयले घटनापछि डिएसपी विष्टलाई बालाजुबाट हटाएर रानीपोखरीमा हाजिर गराएको थियो। घटना भएको दिन सोह्रखुट्टेका डिएसपी बम थप मद्दतको रूपमा बालाजुमा खटिएका थिए। ‘प्रहरी नियमावली अनुसार दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ’ छानबिन समितिका एकजना सदस्यले भने–‘घटनास्थलमा खटिएका दुई डिएसपी गैरजिम्मेवार देखिएका छन्।’

    डिएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको छानबिन समितिको ठहर छ। प्रदर्शन उग्र बनेपछि डिएसपी बम पनि घटनास्थलबाट हिँडेको छानबिन समितिको निष्कर्ष छ।

    प्रदर्शनको समयमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपरमार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो। छानबिन समितिको सिफारिसका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीले जानकारी दिए।