काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी विद्यालय तहको पाठ्यपुस्तक छपाइको काम निजी क्षेत्रलाई दिनै नहुने पक्षमा उभिएका छन्। जनक शिक्षा सामग्री केन्द्रले सो पाठ्यपुस्तक छपाइमा ढिलाइ गरिरहेका बेला सचिव सुवेदीले यस्तो अडान लिएका हुन्।
सोमबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले सो पाठ्यपुस्तक छपाइमा जनक शिक्षा सामग्री केन्द्रमाथि नै भर पर्नुको विकल्प नरहेको जिकिरसमेत गरे।
बैठकमा सांसदहरुले निजी क्षेत्रलाई दिएर भए पनि विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यालयहरुमा उपलब्ध गराउन सरकारलाई दबाब दिएका थिए। त्यसको जवाफ दिँदै सचिव सुवेदीले यही चैत्र १५ गतेभित्र छपाइ सकेर पाठ्यपुस्तक विद्यालय पठाउने प्रतिवद्धता आएको उल्लेख गर्दै आफूले त्यसको भर पर्नुको विकल्प नदेखेको भन्दै जनक शिक्षा सामग्री केन्द्रको बचाऊ गरे।
निजी क्षेत्रलाई सो पाठ्यपुस्तक छपाइ दिन नीतिगत र कानुनी जटिलता रहेको तर्क गर्दै सचिव सुवेदीले आफूहरुले जनक शिक्षाको कुरा पत्याउन आवश्यक रहेको बताए।
जनक शिक्षाले भनेको मैले पत्याउन पर्दछ। हाम्रा डीजी साबहरुले भनेको पत्याउनु पर्दछ। मेरो सिस्टमले भनेको मैले पत्याउनु पर्दछ। इच एन्ड एभ्री टास्कमा म एक्सनमा जान सक्दिनँ। मैले माफ पाउँ। त्यो शब्द प्रयोग गरेँ। त्यसरी ट्रष्ट गरेनौँ भने त संसार नै चल्दैन। उहाँहरुले गर्छ भनिराख्नु भएको छ,” उनले भने, “उहाँहरुले चैत्र १५ सम्म छाप्छु भनिसक्नु भएको छ। वितरण समयमै गर्छु भनिराख्नु भन्नु भएको छ। माननीयज्यूहरुकै अगाडि भन्नु भएको हो। अब ट्रष्ट गर्ने कि नगर्ने? त्यहाँनिरबाट सुरु गर्न चाहेँ मैले। ट्रष्ट नगर्ने हो भने हामी एक्सनमा त्यहीअनुसार जानु पर्छ। ट्रष्ट गर्ने हो भने उनीहरुले गर्नेछन् भन्ने विश्वास गर्नु पर्छ। उनीहरुलाई नै गर्न दिनु पर्यो।”
सचिव सुवेदीले धराशायी भएको सो केन्द्रलाई बचाउन पनि आफूले पाठ्यपुस्तक छपाइको काम निजी क्षेत्रलाई दिन सक्ने अवस्था नरहेको बताए। कागज सप्लाई गर्ने र छपाइ पनि एउटैले गर्ने गरी कसरी निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाइको जिम्मा दिन सकिन्छ? भन्दै उनले समितिमा पटकपटक प्रश्नसमेत गरे।
बैठकमा सांसदहरुले निजी क्षेत्रलाई दिएर भए पनि समयमै विद्यालय तहको पाठयपुस्तक विद्यार्थीको हातमा पु¥याउन सरकारलाई दबाब दिएका थिए। सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहालले समयमै पाठ्यपुस्तक विद्यालयहरुमा पु¥याउने कुरामा अझै कुनै सुनिश्चितता नभएको भन्दै सरकारको आलोचना गरे।
विद्यालय तहको पाठ्यपुस्तक छपाइमा किन ढिलाइ भइरहेको भन्दै सरकारलाई नेपाली कांग्रेस सांसद कमला पन्तले प्रश्न गरिन्। उनले शैक्षिक सत्र आउन ३८ दिन बाँकी रहँदा पनि विद्यालय तहको पाठ्यपुस्तक छपाइको काम पूरा नभएको भन्दै आपत्ति जनाए।
यता, जनक शिक्षा सामग्री केन्द्रले भने विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यालयहरुमा पु¥याउने प्रतिवद्धता जनाउँदै आएको छ। तर, त्यसअनुसारको तयारी नभएकोमा सांसद पन्तको आपत्ति थियो।