काठमाडौं– टी–२० लिगमा संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगञ्जका नितेश गुप्ताले पोखरा एभेन्जर्सका एक जना खेलाडीलाई स्पट फिक्सिङका लागि प्रस्ताव गरेको स्वीकारेका छन्।
तर, हात्तिवनको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा गएर प्रस्ताव गर्दा आफूलाई गाली गरेर पठाइदिएको उनले बताएका छन्।
सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा गुप्ताले भनेका छन्, ‘मेरो सानी आमाको देवर वीरेन्द्र शाहले घरमा आएर उहाँसँग भेट गराइदिनु पर्यो, क्रिकेटको विषयमा कुरा गर्नुपर्छ भन्नु भएको थियो, त्यसअनुसार मैले कहाँ भेट्न सकिन्छ भनेर म्यासेज गरेर सोधेको थिएँ।’
त्यसअनुसार शाहसँग वीरगञ्जबाट काठमाडौं आएर ७ पुसमा ललितपुरमा गएर भेटेको उनले भनेका छन्। त्यसक्रममा शाहले लिगमा ‘हिट विकेट’ गरे राम्रो कमाउन सक्ने भनेको उनले बताएका छन्।