बुटवल– लुम्बिनी प्रदेशमा जनता समाजबादी पार्टी सरकारमा सहभागी भएको छ। जसपाका लुम्विनी प्रदेश संसदीय दलका नेता भण्डारीलाल अहिरलाई सोमवार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ गराए। जसपा सरकारमा सहभागी भएपछि लुम्बिनीमा मन्त्रीको संख्या ११ पुगेको छ।
मन्त्री अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि मुख्यमन्त्री लिला गिरीलाई विश्वासको मत दिएको जसपा माघ २८ गते मन्त्रिपरिषद विस्तार हुँदा सरकारमा सहभागी थिएन।
अहिरलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरे थियो। एक साता अघिमात्रै कृषिमन्त्री बनेका नेकपा (एमाले) का तुलसीराम शर्मालाई भने मुख्यमन्त्री कार्यालय हेर्नेगरी विना विभागीय मन्त्री तोकिएको छ।
मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट यसअघि मन्त्री बनेकी कृष्णा केसीले अहिलेसम्म विभागीय मन्त्रीको पदबहाली नगरेकाले उनको जिम्मामा परेको आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी अर्को व्यवस्था नभएसम्मका लागि खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यले सम्हाल्नेगरी तोछ।
मुख्यमन्त्री गिरीसँगै पुस २८ मा बिना विभागीय मन्त्रीको शपथ लिनुभएकी केसीलाई माघ २८ मा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो। अब लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १० कायमै रहे पनि मन्त्रीको संख्या भने ११ पुगेको छ। अब सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्रबाट तीन, जनमत, राप्रपा र जसपाबाट एक–एक मन्त्रीको सहभागिता भएको छ।