विश्वासको मत पाउँछु, सरकार पाँचै वर्षै चल्छ : मुख्यमन्त्री शाह - Chaitanya News
  • 2026-05-15
  • 17:11:03
  • शुक्रबार,जेठ ०१, २०८३
  • विश्वासको मत पाउँछु, सरकार पाँचै वर्षै चल्छ : मुख्यमन्त्री शाह

    विश्वासको मत पाउँछु, सरकार पाँचै वर्षै चल्छ : मुख्यमन्त्री शाह

    काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले केही दिनमै विश्वासको मत लिने बताएका छन् । उनले प्रदेशसभाबाट आफूले विश्वासको मत पाउने समेत दाबी पनि गरेका छन् ।

    सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै शाहले विश्वासको मतका लागि राजनीतिक दलहरु सकारात्मक रहेकोद्दे बताए । सुदूरपश्चिममा मध्यावधि चुनाव नहुने बताउँदै उनले आफू नेतृत्वको सरकार पाँच वर्ष चल्ने दाबी समेत गरे । विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको जानकारी दिंदै उनले भने, ‘सुदूरपश्चिम सरकार पाँच वर्ष निरन्तर चल्छ ।’

    मध्यावधि चुनावमा जाने कुनै दलको चाहना नभएकाले त्यस्तो कल्पना नगर्न उनले आग्रह गरे । ‘मध्यावधि निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्, फेरि चुनावमा गए जनताले लखेट् छन्,’ उनले भने । २७ पुसमा मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदबाट हटेका थिए । मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रावललाई विश्वासको मत दिएको थिएन ।

    संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेताको हैसियतमा शाह २६ माघमा सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्री बनेका हुन् । संविधानअनुसार शाहले ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ ।

    ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन बहुमत २७ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर उनीसँग अहिले २३ सांसद छन् । उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ ।