काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति पदमा चासो देखाएका छन्। पछिल्लो समय यादवले कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत प्रमुख दलका शीर्ष नेताहरूसँग त्यसबारे छलफल पनि गरेका छन्। यसैगरी उनले कां ग्रेस नेता रामचन्द्र पौडेलसँग पनि भेटघाट गरेका छन्।
जसपा कार्यकारिणी समितिका सदस्य तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक पद जसपाले पाउनुपर्छ भन्ने पार्टीको लाइन रहेको बताए। उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा पार्टी सहभागी हुनेछ। यी दुईमध्ये एक पद जसपाले पाउनुपर्छ भन्ने हाम्रो माग हो।’ यादवनिकट एक नेताका अनुसार कम्तीमा उपराष्ट्रपति पद पाउनुपर्ने जसपाको माग हो।मुख्य दलका शीर्ष नेताहरूसँग भएको भेटघाटमा यसै विषयमा छलफल केन्द्रित भएको ती नेताले बताए।
राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न यादवले आइतबार पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए। उक्त बैठकमा विधान अधिवेशन तथा राष्ट्रपतिको निर्वाचनबारे छलफल भइरहेको कार्यकारिणी समितिमा सदस्य अधिकारीले बताए। यादवले एमाले–माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनबाट अलग भएको बताएका पनि छैनन् र वर्तमान सरकारमा जसपालाई सहभागी पनि गराएका छैनन्। प्रवक्ता मनीष सुमनले जसपा अहिले कुनै पनि गठबन्धनमा सहभागी नभएको बताए।