काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको राष्ट्रपति कांग्रेसबाट निर्वाचित हुने दाबी गरेका छन्।
नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शर्माले अबको राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी गरेका हुन्।
राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वाभाविक रहेको उल्लेख गर्दै उनले भने,‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शंका छैन।’
संविधानको संरक्षण र कार्यान्वयनको जिम्मेवारी राष्ट्रपतिमा रहेको भन्दै महामन्त्री शर्माले कांग्रेसले सो जिम्मेवारी राम्ररी बहन गर्न सक्ने बताए।
अबको केही दिनमा पुरानै गठबन्धन ब्युँतिने दाबी गर्दै शर्माले पहिलो दलका रुपमा कांग्रेसले सरकार गठन गर्न नसक्नुका त्रसटिबारे छलफल गरिने बताए।