नेकपा एमाले मण्डलेजस्तै पार्टी भयो : अध्यक्ष नेपाल - Chaitanya News
  • 2026-05-15
  • 17:11:08
  • शुक्रबार,जेठ ०१, २०८३
  • नेकपा एमाले मण्डलेजस्तै पार्टी भयो : अध्यक्ष नेपाल

    नेकपा एमाले मण्डलेजस्तै पार्टी भयो : अध्यक्ष नेपाल

    काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले मण्डलेजस्तै पार्टी भएको टिप्पणी गरेका छन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई अझै एमालेले कारबाही गर्न नसक्नुले नै एमाले मण्डलेजस्तै भएको तर्क गरे।

    आज काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववीयू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै नेपालले यो कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको जिकिर गरे।

    नेता नेपालले नेपालमा फेरि मण्डलेहरु जाग्न थालेकोसमेत टिप्पणी गरेका छन्। उनले भने, ‘मेचीको पुलमा उभिएर गरेको कुरा देख्नुभयो तपाईहरूले? मण्डलेहरूको रोग एमालेभित्र घुसेको छ। त्यहीँबाट एमाले केन्द्रीय सदस्य अझै पनि छन् कि कारबाही गरिसक्यो थाहा छैन।’

    उनले अगाडि भने, ‘कतै त्यो कम्युनिष्ट पार्टीले यस्ता कुराहरूलाई पनि प्रोत्साहन दिइरहेको त छैन? शंका खडा हुने परिस्थिति बनेको छ। कतै प्रतिगमनको सहयोगी त बन्न गइरहेको छैन भन्ने प्रश्न खडा भएको छ। त्यसो हुनाले नेपालको राजनीतिको तस्त्रिर अझै बेग्लै किसिमको देखिन्छ। समय समयमा कम्युनिष्ट पार्टीले आफ्नो शक्ति देखाएको छ।’

    सोही कार्यक्रममा बोल्दै नेता नेपालले एक साताभित्र सत्तारुढ गठबन्धनको टुंगो लाग्ने बताए। उनले राष्ट्रपतिको चुनावबाट सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन्।

    २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको १३ फागुनमा मनोनयन रहेको छ। यसलाई इंगित गर्दै उनले एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन्।

    संविधान विरोधिदेखि संविधानका पक्षपाती शक्तिहरु रहेकाले गठबन्धन लामो नटिक्ने उनको दाबी छ।