काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका पूर्वआईजीपी शैलेन्द्र खनाल दिल्ली गएका छन्। उनी आज बिहान नेपाल वायुसेवा निगमको उडानबाट त्यसतर्फ गएका हुन्।
पूर्वआईजीपी खनाल निगमको उडान नम्बर आरए २०५ बाट बिहान ८ बजे काठमाडौँबाट दिल्ली प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल वायुसेवा स्रोतले बताएको छ।
पछिल्लो समयमा नेपालमा भारतीय उच्च पदस्थ सरकारी र सुरक्षा निकायका अधिकारीहरुको एकपछि अर्को भ्रमण भइरहेका बेलामा सशस्त्रका पूर्वआईजीपी दिल्ली जानुको कारण भने खुलाइएको छैन। उनी व्यवसायिक कामका लागि भारत गएको बताइएको छ।
खनालको लगानीमा काठमाडौंका विभिन्न स्थानमा महिलाका कपडाको होलसेल पसल सञ्चालनमा भएको व्यापारीहरुको भनाइ छ। कुलेश्वर र डिल्लीबजारको होलसेल पसल उनकै स्वामित्वमा रहेको चर्चा पहिलेदेखि चल्दै आएको हो।
यसअघि उनी पदमा छँदा कृष्णनगर सीमानाका क्षेत्र भारतीय सामान चोरी पैठारीको निम्ति निकै चर्चित थियो।