राजनीतिक दलका नेतामा ठेकेदारी प्रथा कायम : नेतृ शाक्य - Chaitanya News
  • 2026-05-06
  • 12:43:07
  • बुधबार,बैशाख २३, २०८३
  • राजनीतिक दलका नेतामा ठेकेदारी प्रथा कायम : नेतृ शाक्य

    राजनीतिक दलका नेतामा ठेकेदारी प्रथा कायम : नेतृ शाक्य

    दमक– नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी पुर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक दलका नेतामा ठेकेदारी प्रथा कायम रहेकाले अपेक्षाकृत जनताको पक्षमा काम हुन नसकेको बताएकी छन। त्यही प्रबृत्तिविरुद्ध एमालेले ‘मिसन ग्रास रुट’ अभियान शुरु गरेको उनले बताइन।

    अभियानको क्रममा आइतवार झापाको दमकमा आएकी उपाध्यक्ष शाक्यले एमाले पार्टीभित्र पनि ठेकेदारी प्रथा रहेको प्रष्ट पारिन। आफुअनुकुल पार्टी चलाउन आफै धेरैको लेबी तिरिदिने र आफुविरुद्ध बोल्न नसक्ने बनाएर कार्यकर्तालाई दबाएर राख्ने काम अब हुनु हुँदैन, उनले भनीन।

    वडादेखि माथिल्लो तहसम्म नै ब्यवहारिक र संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ छ। हामी आन्दोलनको जगबाट सरकारमा त पुग्यौं, तर जनताको बिषयमा अपेक्षाकृत काम गर्न सकेनौ, उनले भनीन। सुखी नेपाली, सम्बृद्ध नेपालको सपना साकार पार्न अब तलदेखि माथिसम्म सुधार गर्न जरुरी रहेको उनले बताइन।

    राजनीतिमा ईमान्दारीता हराउँदै गएको भन्दै नेतृ शाक्यले अब ईमान्दार कार्यकर्ता उत्पादन गर्नुपर्ने औल्याइन। हामी कार्यकर्ता ईमान्दार भयो भने संगठनभित्र आफै इमान्दारिता कायम हुँदैजान्छ, उनले भनीन। जनताका पक्षमा वकालत गर्ने संगठनको रुपमा पार्टीको कमिटी र जनबर्गीय संगठनलाई स्थापित गर्नुपर्छ उनको भनाइ छ।