काठमाडौं– नेकपा (माओवादी केन्द्र) का नेता ईश्वरचन्द्र ज्ञवालीले विगतका राष्ट्रपतिहरुको कदमले राष्ट्रिय सहमतिको आवश्यकता निम्त्याएको टिप्पणी गरेका छन्। उनले एउटै पार्टीभित्र सबै पद रहँदा देशको शासन सत्ता निरंकुशतातर्फ धकेलिने खतरा भएको बताए। ‘राष्ट्रिय सहमतिको आधारमा हुने सहमतिलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो बटमलाइन हो। अतीतका जुन घटनाहरु छन्, रामवरण यादवको सन्दर्भमा एउटा घटना घट्यो। विद्यादेवी भण्डारीको पालामा पनि थुप्रै विवादास्पद कुराहरु भए। त्यसले गर्दा एउटै पार्टीका सबैचिज हुँदा राज्यसत्तामा हिजोको निरंकुश परम्पराको सुरुवात हुने त होइन रु कतै प्रतिगमनतर्फ फर्कने परिस्थितिको सिर्जना हुने त होइन? भन्ने प्रश्नको आधारमा राष्ट्रिय सहमतिको खोजी गरिएको हो,’ उनले भने।
राष्ट्रपतिमा राष्ट्रिय सहमति नबन्दा मुलुकको राजनीति अस्थिरतातर्फ धकेलिने उनको बुझाइ छ। मुलुकको समृद्धि र विकास, राजनीतिक स्थिरता र राष्ट्रिय सहमति अपरिहार्य रहेको उनले बताए। ‘यो राष्ट्रको हितको कुरा हो। राष्ट्रलाई कसरी अगाडि बढाउने, समृद्धि र विकासतर्फ लैजाने भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण प्रश्न हो जस्तो लाग्छ। त्यसको निम्ति सिङ्गो राष्ट्रले एउटा सहमति कायम गर्न र विकास र समृद्धिको सन्दर्भमा देशलाई स्थिरतातर्फ लैजाने र स्थिर राजनीतिको माध्यमबाट विकास र समृद्धिमा जानको निम्ति यो राष्ट्रिय सहमतिको खोजी भएको हो। यदि राष्ट्रिय सहमति नहुने हो भने दिनदिनै सरकार ढल्ने र बन्ने श्रृङ्खला सुरु भयो भने त्यसले राष्ट्रलाई अस्थिरतातर्फ लैजान्छ र अस्थिरताले देशलाई भलो गर्दैन,’ उनले भने।