एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने अध्यक्ष ओलीको दाबी - Chaitanya News
  • 2026-05-06
  • 12:43:29
  • बुधबार,बैशाख २३, २०८३
  • एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने अध्यक्ष ओलीको दाबी

    एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने अध्यक्ष ओलीको दाबी

    विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन्। विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुराकानी नेकपा एमाले र माओवादी केन्द्रबीचको सत्ता समीकरण निर्माण हुने बेला नै यस विषयमा सहमति भइसकेको ओलीले स्पष्ट पारे। पुर्वप्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपति एमालेकै हुन्छ। अहिलेको सत्ता समीकरणको जन्मकुण्डलीमै त्यसबारे स्पष्ट व्याख्या गरिएको छ।’

    नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रपतिबारे कुनै सहकार्य नभएको बताउँदै आएका छन् भन्ने पत्रकारको प्रश्नमा ओलीले सबैसँग सहकार्य गर्नुपर्ने कुनै आवश्यकता नरहेको जवाफ दिए। उनले भने, ‘सबैसँग कहाँ सहकार्य हुन्छ रु माओवादी केन्द्रका कार्यकर्तासँग पनि सहकार्य गर्नुपर्छ र?

    राष्ट्रपतिको नाम मनोनयन दर्ताको दिन सार्वजनिक

    राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले एमालेको उम्मेदवारलाई सहयोग गर्ने विषयमा कुनै शंका उपशंका गर्ने ठाउँ नरहेको अध्यक्ष ओलीले स्पष्ट पारे। यसबारे पौष १० गते नै सहमति भइसकेको उनले बताए।अध्यक्ष ओलीले एमालेको उम्मेदवार राष्ट्रपति हुने दाबी गरेका हुन्।

    राष्ट्रपतिका लागि फागुन १३ गते एमालेले आफ्नो उम्मेदवार अघि सार्ने उनले जानकारी दिए। ‘राष्ट्रपतिको विषयमा तत्काल हामीले कसैको नाम लिएका छैनौं,’ उनले भने, ‘राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनयन दर्ताको दिन सार्वजनिक हुन्छ।’

    राष्ट्रपतिमा तपाईलाई अघि सार्ने विषय पनि मिडियामा आएको छ नि? भन्ने पत्रकारको प्रश्नमा उनले व्यङ्ग्यात्मक जवाफ दिए। उनले भने, ‘साथीहरुले रमाईलो प्रसङ्ग निकाल्नुभएछ।’