देउवाले मागे वरिष्ठ अधिवक्ताहरुको सहयोग - Chaitanya News
  • 2026-05-15
  • 16:07:04
  • शुक्रबार,जेठ ०१, २०८३
  • देउवाले मागे वरिष्ठ अधिवक्ताहरुको सहयोग

    देउवाले मागे वरिष्ठ अधिवक्ताहरुको सहयोग

    काठमाडौँ– कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफूलाई विपक्षी दलको नेता नबनाउन माग गर्दै परेको रिटमा वरिष्ठ अधिवक्ताहरुको सहयोग खोजेका छन्।

    अधिवक्ता विमल पोखरेलले देउवालाई विपक्षी दलको नेताको मान्यता नदिन परमादेशको माग गर्दै दायर गरेको रिटमा सोमबार सर्वोच्चमा पेशी तोकिएको छ।

    उक्त दिन आफ्नो पक्षबाट बहस गरिदिन देउवाले शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा वरिष्ठ अधिवक्तासँग परामर्श गरेका हुन्। देउवाले गरेको आमन्त्रणलाई स्वीकार गर्दै वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शम्भु थापा, हरिहर दाहाललगायत दलको कार्यालय पुगेर देउवालाई सुझाव दिएका छन्।

    छलफलबारे जानकारी दिँदै वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘उहाँविरुद्धको मुद्दामा छलफल गर्न बोलाउनु भएको हो। उहाँले मेरो पक्षबाट बहस गरिदिनु पर्‍यो भन्नुभएको छ।’

    यसअघि माघ २५ गते सर्वोच्चले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सोमबार अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको थियो।

    न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै उक्त दिन कारण देखाउ आदेश जारी गरेको अवस्थामा देउवाले तयारी स्वरुप वरिष्ठ वकिलहरुसँग सहयोग मागेको छलफलमा सहभागी कांग्रेसका एक नेताले जानकारी दिए।

    पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा पुस १० गते समर्थन नगरेको कांग्रेसले पुस २६ गते संसदबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो।

    प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि कांग्रेसले आफूलाई विपक्षी दलको मान्यता पाउनुपर्ने आशयले संसद सचिवालयलाई पत्राचार गरेको छ। अधिवक्ता पोखरेलले देउवलाई विपक्षी दलको मान्यता नदिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संसद सचिवालयलगायतलाई विपक्षी बनाएका छन्।

    कांग्रेसले भने आफूलाई विपक्षी दलको मान्यता दिनुपर्ने अडान राखेको छ। कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले आफूहरुलाई विपक्षी दलको मान्यता दिन माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन्।