कपिल केसी नेपाल विद्यार्थी संघका सक्रिय विद्यार्थी नेता हुन्। बैतडी जस्तो विकट जिल्लामा रहेर उनले जिल्ला भर नेविसंघको संगठन विस्तार गरेका छन्। थुप्रै विद्यालय र कलेजमा नेविसंघको संगठन छ। यो केसीले नेविसंघ बैतडीको जिल्ला सभापति हुँदै गर्दा खेलेको कुसल भूमिकाका कारण सम्भव भएको हो। नेविसंघ बैतडी जिल्ला कार्यवहाक सभापति हुँदै सभापतिमा निर्वाचित केसी सात वर्षदेखि नेविसंघ बैतडीको कमाण्ड सम्हालिरहेका छन्। सात वर्षदेखि अनवरत जिल्लामा सक्रिय उनले दिनकै सात घण्टा हिँडेर संगठन निर्माण गरेको अनुभव संगालेका छन्। उनीभित्र यो विद्यार्थीले भोग्दै आएका थुप्रै पीडा र समस्याको अनुभूति छ। उनी बैतडीबाट निर्वाचित कांग्रेस महाधिवेशन प्रतिनिधि पनि हुन्। अब केसी नेविसंघ सुदूरपश्चिम प्रदेश अध्यक्षको दाबी गरिरहेका छन्। तर, पार्टीले प्रदेश अधिवेशन कहिले गर्छ भन्ने टुंगो छैन। आज हामीले केसीसँग नेविसंघभित्रको समस्या र केसीको आगामी यात्राका विषयमा केन्द्रीत रहेका कुराकानी गरेका छौं :
कांग्रेसले भ्रातृ तथा शुवेच्छुक संस्थालाई पूर्णता दिँदै गर्दा पदाधिकारीसहितको ल्याउने वा प्लेन समिति ल्याउने भन्ने वहस छ, यहाँलाई कस्तो समिति ल्याउनुपर्छ लाग्छ?
अहिले नेपाली कांग्रेस प्रतिपक्षमा छ। यो समयमा हामीले पार्टी र भ्रातृ संगठनलाई क्रियाशील बनाउनुपर्छ। विधानमा रहेर भ्रातृ तथा शुवेच्छुक संगठनको पूर्णता गर्नुपर्छ। भरखरै सम्पन्न तीनै तहको निर्वाचनको अंक गणितमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले राम्रो सिट ल्याए पनि समानुपातिकतर्फ हाम्रो मत घटेको छ। यस्तो अवस्थामा हामीले हाम्रा संगठनलाई क्रियाशील पारेर गाउँगाउँसम्म पुग्नुपर्छ। सातै प्रदेशमा भ्रातृ संगठनका संरचनालाई विस्तार गर्नुपर्छ। यसो गर्न सकेमात्र कांग्रेसभित्र नविन रक्तसञ्चार प्रवाह हुनेछ। अहिले कांग्रेसमा लाखौं कार्यकर्ताहरू सक्रिय हुनुहुन्छ। तर, भूमिका विहिन अवस्थामा। सबै भ्रातृ तथा शुवेच्छुक संगठनलाई विधानत: पदाधिकारीसहित पूर्णता दिने हो भने भूमिका विहीन रहेका ठूलो संख्यामा साथिहरूले जिम्मेवारी पाउनु हुनेछ।
यस पटकको निर्वाचनमा भ्रातृ तथा शुवेच्छुक संस्था क्रियाशील नभएकै कारण पनि कांग्रेसको केही मत घट्यो भनिन्छ, तपाईंलाई यस्तो लाग्छ?
भ्रातृ संस्थाले पार्टीको केन्द्रीय तहको निर्देशनलाई जनस्तरसम्म पुर्याउने काम गर्छन्। भ्रातृ संगठन भूमिका विहीन र निर्माण नभएकै कारण पार्टीले अपेक्षित रूपमा जनस्तरमा विचार प्रवाह गर्न सकेन। जसले गर्दा हाम्रो करिव सात लाख मत घटेको अनुमान गरेका छौं। मैले १७/१८ वर्ष नेविसंघमा रहेर काम गरे। युवाहरूलाई कांग्रेसले अपेक्षित रूपमा स्थानीय तहमा टिकट दिन सकेन। प्रदेश र केन्द्रमा पनि युवाहरूको उपस्थिति अपेक्षित हुन सकेन। स्वतन्त्र र नयाँ पार्टीबाट २७/२८ वर्षकै उमेरमा सांसद भए। पार्टीले सोही उमेर समूहका युवाहरूको मनोभाव बुझ्न सकेन। अहिले कांग्रेसले १० हजार युवा कार्यकर्ताको व्यवस्थापनको खाका तयार गर्नुपर्छ। त्यसका लागि सबै भ्रातृ तथा शुवेच्छुक संस्थाको पूर्णता र वडा तहसम्म संगठन विस्तार नै प्रमुख विकल्प हो। पार्टीले यसमा किन कन्जुस्याइ गरिरहेको भन्नेमा हामी नै अचम्मीत छौं। युवाहरूलाई राजनीतिक रूपमा भूमिका दिँदै काम गर्ने अवसर दिनुपर्छ। त्यसका लागि पार्टीले कुनै तलव र सेवासुविधा दिनुपर्दैन। अहिले मेरो उमेरका साथिहरू कुनै पनि भूमिकामा नबसेर राजनीति गर्छु भनेर बेचैन भएर बसिरहनु भएको छ।
तपाईं युवाहरू नेता प्रस्त भएर नै कतै यो अवस्था सिर्जना भएको त होइन?
अहिले युवाहरू पनि विभाजित भएका छन्। अहिले पार्टी नेतृत्वमा पनि युवाहरू हुनुहुन्छ। यहाँहरू नेविसंघ र तरुणदलको राजनीति गरेकै व्यक्तिहरू हो। अहिले उहाँहरू नै नेविसंघ र तरुणदललाई पूर्णता दिनुपर्छ भन्ने विषयमा चिन्तित देखिनु हुँदैन। पार्टीको बैठकमा पदाधिकारीहरूले भ्रातृ संस्थाको पूर्णताको विषय उठान गरेको सुनिदैन। केन्द्रीय तहमा रहेका युवा नेताहरूले नै आफूसँग हिँडाउँदै आफ्नो मिसन तथा भिजनमा सामेल गर्न नै सकिरहनु भएको छैन। उहाँहरूले युवाहरूमा विवाद सिर्जना गरेर त्यसको लाभ लिन खोजेजस्तो देखिन्छ। हामीले नेविसंघका पूर्व पदाधिकारीलाई पटक-पटक संगठनलाई जिवन्तता प्रदानका लागि आग्रह गरेका छौं। स्ववियू निर्वाचन नजिकिँदै छ। यस्तो बेला जिल्ला नेतृत्वलाई पनि सक्रिय गराउन पर्ने हुन्छ। त्यो हुन सकिरहेको छैन। कतिपय कुरामा हामी विभिन्न अनुशासनको परिधिमा छौं। त्यसले गर्दा विद्रोह गर्न नसकिएको अवस्थालाई पनि स्वीकार्नुपर्छ। अहिले पनि हामी भ्रातृ संस्थाले चाँडै पूर्णता पाउने छ र स्ववियू निर्वाचनमा अधिकांश स्थानमा हामी विजयी हुनेछौं भन्नेमा म विस्वस्त छु।
नेताहरूले प्लेन समिति ल्याउने भन्छन् कि पदाधिकारीसहितको? तपाईंको तयारी चाहीँ केमा होनी?
विधानत: पदाधिकारीसहितको समिति ल्याउनुपर्छ। नेताहरूले सहमतिको नाममा प्लेन समिति ल्याउने कुरा गर्नुभएको छ। म सुदूरपश्चिम प्रदेशको नेविसंघ अध्यक्षमा मेरो दाबी हो। मैले न्याय पनि पाउनुपर्छ। लामो समयदेखि म इकाइ अधिवेशनबाट इकाइ सभापति भएको, नेविसंघ क्षेत्रीय सभापति हुँदै कार्यवहाक र निर्वाचित बैतडी जिल्ला सभापति भएको व्यक्ति हुँ। पार्टीमा पनि म महाधिवेशन प्रतिनिधिमा निर्वाचित व्यक्ति हुँ। म पटक-पटक कार्यकर्ताबाट अनुमोदित भएको छु। संगठन निर्माणका लागि ग्रास रुटमा बसेर काम गरेको छु। म कार्यकर्ताको बीचमा रहेर परीक्षा दिँदै सफल हुँदै आएको छु। म सुदूरपश्चिमका प्रत्यक जिल्लामा कांग्रेसका कार्यक्रम र भेलामा सहभागी भएको छु। म संगठन निर्माणका लागि जुनसुकै क्षेत्रमा पनि पुग्ने गर्छु। म जिल्ला र प्रदेशमा रहेर उत्कृष्ट कार्यसम्पादन गर्नुपर्छ भन्नेमा प्रस्ट छु। कतिपय इकाइ सभापतिले स्ववियू जिताएर आफ्नो क्षेमता सावित गर्छन्। कतिपय जिल्ला अध्यक्षले जिल्लाका विभिन्न कलेजमा हुने स्ववियूका निर्वाचन जिताएर आफ्नो क्षेमता देखाउँछन्। बैतडीका पाँच क्याम्पसमा २०७३ सालमा स्ववियूको निर्वाचन हुँदै गर्दा पाँचवटै क्याम्पसमा चुनाव जिताएका थियौं। म नेविसंघ बैतडीको कार्यवहाक सभापति थिए। यी र यस्ता थुप्रै काम गरेकाले मप्रति न्याय हुनेमा विश्वस्त छु।
अब विद्यार्थीहरूलाई सडकमा उतार्ने काममात्रै गर्नु हुँदैन। अब वौधिक बहस गर्नुपर्छ। आन्दोलनका स्वरुप परिवर्तन गर्नुपर्छ। लामो समयदेखि स्ववियू हुन नसक्दा विद्यार्थीका माग सम्बोधन हुन सकेका छैनन्। विश्व विद्यालय र क्याम्पसहरूमा हुने विकास निर्माणमा अनियमितता छ। शैक्षिक गुणस्तर खस्किँदो छ। यी सबै कुरामा हामी जानकार छौं। हामीले पटक-पटक यो विषय उठाएका छौं। तर, केन्द्रमा अपेक्षित रूपमा नेविसंघ विद्यार्थीका पक्षमा उभिन नसकेकै हो। यसमा पनि हाम्रो समयमै संगठन विस्तार हुन नसक्नु नै प्रमुख कमजोरी हो।