रुपन्देही– भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सकिएको छ। हाल भण्डारीको स्वास्थ्य अवस्था स्थिर रहेको र आईसीयूमा राखेर उपचार भइरहेको उनीसँगै गएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिएका छन्।
उपचारमा संलग्न डा. मुकेश मिश्राले बिहान साढे ९ बजे गरेको काउन्सिलिङ अनुसार भण्डारीलाई साढे १० बजे पहिलो शल्यक्रियाका लागि अपरेसन थिएटरमा लगिएको थियो। उमेरका कारण उक्त शल्यक्रियाको जोखिम ४८ घण्टासम्म रहने बताउँदै मिश्राले अहिले शारीरिक पारामिटर सबै सामान्य रहेका जानकारी दिएको कँडेलले बताए।
पहिलो शल्यक्रिया सकेर दिउँसोदेखि भण्डारीको दोस्रो शल्यक्रियाको तयारी भइरहेको छ।
उनको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको डाक्टरलाई उद्धृत गर्दै कँडेलले बताएका छन्।
बुधबार राति बुद्धनगरस्थित घरमा खाना पकाउने सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए। ८९ वर्षीया आमा हरिकलाको बिहीबार बिहान कीर्तिपुरस्थित बर्नर सेन्टरमा उपचारको क्रममा निधन भएको थियो।
सांसद भण्डारीलाई बिहीबार दिउँसो थप उपचारका लागि श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो।
भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ। धुवाँ स्वासनलीमा गएकाले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ।