सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दै जान्छौं : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-05-06
  • 11:51:23
  • बुधबार,बैशाख २३, २०८३
  • सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दै जान्छौं : प्रधानमन्त्री प्रचण्ड

    सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दै जान्छौं : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्दै जाने सरकारको संकल्पमा सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

    अस्पताललाई चिकित्सा शिक्षा र तालिम केन्द्रका रूपमा रूपान्तरण र विकास नगरी सुलभ, प्रभावकारी, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिँदैन, अनुसन्धानको कार्यलाई व्यवस्थित र परिणाममुखी तुल्याउन सकिँदैनु, उनले भने, यसै यथार्थलाई मध्यनजर गर्दै प्रतिष्ठानले विराटनगर, भरतपुर, भैरहवामा रहेको सरकारी र सामुदायिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरेको छ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आगामी दिनमा प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्बोधन हुने गरी अनुसन्धानका कामलाई अगाडि बढाउन निर्देशन दिए।

    प्रधानमन्त्री दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आफ्नो दृष्टिकोण, लक्ष्य र उद्देश्यलाई मध्यनजर गर्दै स्वास्थ्य सेवाका लागि विश्वसनीय, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न, देशमा आवश्यक जनशक्ति उत्पादन गर्न, अनुसन्धान तथा चिकित्सा शिक्षाको विकासमा गरिरहेको प्रयास र पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताए।