शाखा अधिकृतको तयारी कसरी गर्ने, यस्तो छ ढुंगानाको अनुभूति - Chaitanya News
  • 2026-07-22
  • 17:05:45
  • बुधबार,साउन ०६, २०८३
  • शाखा अधिकृतको तयारी कसरी गर्ने, यस्तो छ ढुंगानाको अनुभूति

    शाखा अधिकृतको तयारी कसरी गर्ने, यस्तो छ ढुंगानाको अनुभूति

    लोकराज ढुंगानाले शाखा अधिकृतका रूपमा नाम निकालेका छन्। उनी राजश्व सेवातर्फ सिफारिस भएका छन्। उनले यो सफलता प्राप्तिका लागि ठूलो संघर्ष गरेका छन्। शाखा अधिकृतको तयारी गर्दै गर्दा उनी दुई पटक त असफल पनि भए। असफल हुँदा उनी निराश भएनन्। अझैँ आफूलाई माझ्ने अवसरका रूपमा लिए। र, निरन्तर प्रयास गर्दै गए। अन्ततोगत्वा उनलाई सफलता मिल्यो।  तिनै ढुंगानासँग लोकसेवा तयारीको पेरफेरिमा रहेर आज चैतन्य खबरका लागि निर्मला कडायतले गरेको संवादको सम्पादित अंश:

    तपाईंले शाखा अधिकृतका रूपमा सफलता प्राप्त गर्न कति मेहेनेत गर्नुपर्‍यो?

    मैले २०७५ सालबाट लोकसेवा आयोगको तयारी सुरु गरेको हुँ। पहिलो प्रयासमै म सफल भए। म नायव सुब्बाका रूपमा नाम निकाल्न सफल भए। र, सर्वोच्च अदालतमा सिफारिस भए। त्यस वर्ष म शाखा अधिकृतमा सफल भइन। २०७७/०७८ को शाखा अधिकृतको विज्ञापनमा फेरि पास भइएन। तेस्रो प्रयासमा यो सफलता हाल लागेको छ। तेस्रो पटक सफलता प्राप्तिका लागि निकै मेहेनेत गर्नुपरेको छ। दुई जाँचमा असफल हुँदै गर्दा सफलता प्राप्तिका लागि कमीकमजोरी सच्याउँदै अघि बढेँ।

    दुई पटक असफल हुँदा कस्तो अनुभूति भएको थियो?

    ठूलो तयारी गरेर जाँच दिँदै गर्दा तनाव त भइहाल्छ नै। एक लेबलको मेहेनेत गरेको थिए। फेल हुँदा मैले ह्रास भने खाइन। कुन कुरामा चुके भनेर हेर्थे। के कुराले फेल भइयो भनेर आफू भन्दा सिनियर वा सोही वर्ष पास भएका साथीहरूसँग के लेख्नु भएको थियो? कस्तो लेख्नु भएको थियो? भनेर सोध्थेँ। यसका साथै आफ्नो लेख सीप पनि सुधार्दै लगेको थिए। फ्रस्टेसन नभईकन निरन्तर तयारी गर्नै हो भने कहिले एकै पटकमा पनि सफलता हासिल गर्न सकिन्छ। कहिलेकाहीँ दुई/तीन पटकमा पनि सफल हुन सकिन्छ। दुई तीन वर्ष लाग्दै गर्दा पहिलो पटक भन्दा दोस्रो र दोस्रो पटक भन्दा तेस्रो पटक देखिने गरी नै राम्रो हुनुपर्छ।

    तपाईं त सेवारत पनि हुनुहुन्थ्यो, समय व्यवस्थापन कसरी गर्नुहुन्थ्यो?

    सार्वजनिक सेवामा अदालत कामको चाप भएकै क्षेत्र हो। तर, मैले बिदाको सदुपयोग गर्दै अधिकृतका लागि पनि तयारी गरिरहेको थिए। बिहान-बेलुकीको समय सदुपयोग गर्थे। रातिको समय सदुपयोग गर्थे। अफिसमा पनि साथीहरूसँग भेट हुँदा समसामयिक विषयमा कुरा गरिरहेको हुन्थेँ।

    तपाईंले जस्तै सफलता प्राप्त गर्न आयोगको तयारी कसरी गर्नुपर्ला?

    म नेपालको निजामती सेवामा छिर्छु भन्ने पहिलो चाहना हुनुपर्छ। यहाँको सेवा सुविधाले मेरो जिविको पार्जन हुन्छ, यसले म सन्तुष्ट हुनसक्छु भन्ने आत्मविश्वास चाहिन्छ। त्यो भने पछाडिको पढ्ने वातावरण हो। त्यसका लागि अहिले विभिन्न ट्युसन सेन्टर छन्। टेस्ट परीक्षा हुन्छ। निजामती सेवाकै सचिव, सहसचिवहरूसँग भेट्न र क्लास लिन पाइन्छ। आफ्ना कमजोरीलाई निरन्तर सुधार गर्दै जाने हो भने पक्कै सफलता हासिल गर्न सकिन्छ। मानिस डाइनामिक हुनुपर्छ। विभिन्न क्षेत्रको ज्ञान फेसबुक, ट्विटरबाट प्राप्त गर्न सकिन्छ। ज्ञान लिँदै आफूलाई खार्दै जाने हो भने अहिले विभिन्न क्षेत्रमा विज्ञापन खुलिरहेको छ। लोकसेवा आयोगले नै जाँच लिन्छ। त्यसैले सजिलो छ। अहिले दुर्गम क्षेत्रका मानिसले पनि अनलाइन माध्यमबाट क्लास लिन सकिन्छ।

    सरकारी काम चाँडो हुँदैन भनिन्छ, तपाईंहरू जस्ता नाता युवा जनशक्तिसँग कुनै नयाँ भिजन छ?

    सेवा प्रवाह राम्रो गर्नुपर्छ भन्ने नै हो। हामी आफू पनि अपडेट हुनुपर्छ। देश विदेशमा भइरहेका प्रयोजनका बारेमा सिक्नुपर्‍यो। नीतिगत सुधार गर्ने ठाउँमा भएका मानिसहरूलाई कुनै सुधारका विषय भए सुझाव दिनपर्‍यो। टिमवर्क बनाएर काम गर्नुपर्छ। समय सापेक्ष अनुसार जस्तो कानुन बन्छ सोही अनुरूप काम गर्नुपर्छ भन्ने हो।

    अन्त्यमा नयाँ तयारी गरिरहेका विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?

    हामीले समय सापेक्ष सामग्रीको अध्ययन गर्नुपर्छ। सरहरूले भनेका पुस्तक अध्ययन गर्ने गर्नुपर्छ। लोकसेवा आयोग लेखेर पास हुने कुरा हो। निरन्तर लेखाइ प्रक्रियालाई तिखार्दै लैजानुपर्छ। समय व्यवस्थापन गर्दै अध्ययन गर्नुपर्छ।